गोरुबथान: दिनांक १२.०६.२०२४ बुधबारको दिन अनुज्ञालय एवं गोरुबथान १ ग्राम पञ्चायतको पहलमा, पुलीस विभाग , रोजमेरी बोर्डिङ स्कुल, चिल्ड्रेनस् होम एकेडमी, मास्कट स्कूल, माल बस्ती एक्स आर्मी एशोसिएसन, चालक महासंघ, टेक्सी एशोसिएसन गोरुबथान, टेक्सी एशोसिएसन सी०बी०आई०, ग्रास रूट फाउन्डेसन, हिमाली समाज, हाम्रो समाज, न्यू स्पोर्टिङ्ग क्लब, कन्सेटो क्लब, सयुक्त समाज, भी०बी०डी० टीमको संयुक्त आयोजनामा “विश्व बाल मजदुर विरोध दिवस- २०२४”-को पालन गरियो। गोरुबथान धर्मशालामा कार्यक्रमलाई संचालित गर्दै संस्थाको पक्षदेखि बाल सुरक्षा कर्मी उज्जवल राईले विश्व बाल मजदुर विरोध दिवस पालनको औचित्य बारे बताए। २०१३ देखि बाल अधिकारमा कार्य गर्दा बाल श्रममाथि रेस्क्यु अपरेसनद्वारा गोरुबथान खण्डको मुटु मानिएको सोमबारे बजार बाल श्रम बन्द गर्न सफल भएको थियो। त्यसपछि भने, प्रत्यक्ष रूपमा बाल श्रम देख्नु पाइएको छैन। यदि कसैले कुनै पनि बाल बालिकालाई आफ्नो घरमा राखी कार्य गराएको खण्डमा त्यो बालश्रममा नै गन्ती आऊने एवं कानूनी कारवाही हुने बताए। हाम्रो समाज एवं युद्धवीर उच्चतर माध्यमिक विद्यालयको शिक्षक प्रेम मुखियाले बाल श्रमदेखि नानीहरूलाई जोगाई भविष्य सुनिश्चित गर्न हेतु कसरी विद्यालयहरुले आफ्नो क्षमता भन्दा अधिक नानीहरूलाई भर्ति गराई रहेको बारे बताए। नो डिटेन्सन पोलिसीको मुख्य उद्देश्य भनेको नानीहरूलाई बाल श्रम एवं अन्य अपराध देखि बचाउनु पनि हो भन्ने स्पष्ट गरे। पञ्चायत प्रधान निमा तामाङले बाल बालिकाहरुको सम्पूर्ण विकास हेतु नै बाल श्रम नगराउने, कारण जुन उमेरमा नानीहरूको शिक्षाद्वारा मानसिक एवं खेलकूदद्वारा शाररिक पूर्ण रूपमा विकास हुनु पर्ने हो त्यो समय नानीहरूको श्रमिक हुँदा विभिन्न रोग बिमार मात्र नभएर हाम्रो समाज भविष्य कस्तो हुन्छ होला भन्दै विचार गर्नु पर्ने बारे बुझाए। बाल सुरक्षा समितिहरूलाई सशक्तिकरण गरी बाल बालिकाहरुको मुद्दामा अझै कार्य गर्ने पनि जनाए। पञ्चायत समिति सभापति सूर्यमणि राईले यस्तो सराहनीय कार्यमा पञ्चायत व्यवस्था सदैव नै संस्थाको एवं जनमानसको साथ रहने बताए। आजदेखि मात्र कार्यभार लिएको गोरुबथान पुलिस विभागका ओसी श्री प्रतीक सुब्बाले यसरी कार्यभार सम्हालेको दिने नै यस्तो कार्यक्रममा भाग लिनु पाउँदा एवं पञ्चायत विभागिय सदस्यहरु चिनजान गर्नु पाउँदा खुशी व्यक्त गरे। धेरै कुरा नभनेर आफ्नो परिचय दिँदै कुनै पनि समस्या भएमा निसंकोच सम्पर्क गर्नु सक्ने बताए।

उक्त कार्यक्रममा उपस्थित रहेको विद्यार्थी एवं संघ संस्थाहरुले सोमबारे बजार परिसरमा बाल श्रम नराखी दिने अनुरोध सहित जनमानसमा अपील गर्दै हातमा बाल श्रम विरुद्धको प्ले कार्ड सहित बजार परिक्रम गरे भने, गोरुबथान १ ग्राम पञ्चायत कार्यालयमा बाल सुरक्षा कर्मी प्रदेश राई धन्यबाद ज्ञापनद्वारा समाप्त गरे।