तेन्जिङ लाम्टाले गरे एसकेएम सरकारको प्रशंसा
गान्तोक: ११औं सिक्किम विधानसभाको पहिलो सत्रको शुरूवात आज नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहणबाट शुरू भयो।
शपथ ग्रहणपछि विधानसभा अध्यक्ष र उपाध्यक्षको चुनाउ सम्पन्न भयो, जसमा मिङ्गमा नर्बु शेर्पा अध्यक्ष र विधायक राजकुमारी थापा उपाध्यक्ष निर्वाचित भएका छन्।
११औं सिक्किम विधानसभाको आज पहिलो सत्रमा हालैमा सम्पन्न भएको चुनाउमा निर्वाचित एसकेएम पार्टीका ३१ र एसडीएफ पार्टीका एक सदस्यलाई शपथ ग्रहण गराइयो। प्रो-टेम स्पीकर सञ्जीत खरेलले नवनिर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराए। सबैभन्दा पहिला मुख्यमन्त्री तथा सदनका नेता प्रेमसिंह तामाङले शपथ ग्रहण गरेपछि क्रमबद्ध रूपमा अन्य सदस्यहरूले शपथ ग्रहण गरेका थिए।

शपथ ग्रहणपछि विधानसभा अध्यक्ष र उपाध्यक्षको चुनाउ सम्पन्न भयो, जसमा सर्वसम्मतिद्वारा मिङ्गमा नर्बु शेर्पा अध्यक्ष र विधायक राजकुमारी थापा उपाध्यक्ष निर्वाचित भए। उपाध्यक्ष थापाले आफ्नो सम्बोधनमा आफुलाई महत्वपूर्ण अवसर प्रदान गरेकोमा मुख्यमन्त्री तामाङप्रति आभार प्रकट गरिन्। उनले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वहन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

धन्यवाद प्रस्तावको क्रममा एसडीएफ पार्टीका एक्लो विधायक तेन्जिङ लाम्टाले मुख्यमन्त्री तामाङ र एसकेएम सरकारका कार्यहरूको खुलेर प्रशंसा गरे। हालैमा सम्पन्न भएको विधानसभा चुनाउमा एसकेएम पार्टीले भारी बहुमतले जित हासिल गरेकोमा उनले मुख्यमन्त्रीलाई बधाई पनि दिए। उनले चुनाउ शान्तिपूर्वक सम्पन्न भएकोमा मुख्यमन्त्री लगायत सम्बन्धित सबैप्रति आभार प्रकट गरे। आफ्नो सम्बोधनको क्रममा उनले एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङको एकैपल्ट पनि नाम लिएनन्। धन्यवाद प्रस्तावमा मन्त्री अरुण उप्रेती र विधायक सोनाम भेन्चुङ्गपाले पनि सम्बोधन गरेका थिए।