खरसाङ: नेवारहरूको चाढ़ ‘सिथी नख:’ को अवसरमा सर सफाईको कार्यक्रम सम्पन्न गरिएको छ। नेवा बुध्दिष्ट कल्याण संगठनद्वारा नेवारी चाढ़ ‘सिथी नख:’ को उपलक्ष्यमा खरसाङ महकुमा समिति र नरबुङ, सिपाहीधुरा शाखाको संयुक्त तत्त्वावधानमा खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोलामा अवस्थित शिव मन्दिर परिसरमा सर सफाई गरिएको छ। नेवारी संस्कृति र समाजमा वर्षा शुरु हुन अघि आफ्नो छेउछाउमा रहेको नदी, नाला, खोला, पोखरी तथा इनारहरू सर सफाई गर्ने परम्परा रहेको छ। त्यही अनुसार शिवखोलामा अवस्थित मन्दिरमा नेवा बुध्दिष्ट कल्याण संगठनद्वारा सर सफाई गरिएको जानकारी प्राप्त भएको छ। त्यसरी नै नेवारी संस्कृति अनुसार अाजको दिन आफ्नो छोरी चेली तथा ज्वाईहरूलाई बोलाएर खानपान गराउने चलन रहेको छ।

यस सर सफाई कार्यमा नेवा बुध्दिष्ट कल्याण संगठनको केन्द्रीय उप सभापति पुष्प प्रधान लगायत खरसाङको सभापति सञ्जय प्रधान, घैयाबारी, तीनधारे, नरबुङ शाखाको कन्भेनर गणेश प्रधान, घैयाबारीबाट राजेस प्रधान, नेवार सांस्कृतिक विभागको सदस्य अनुराग प्रधान, केन्द्रीय समितिको कोषाध्यक्षा माया प्रधान, नरबुङ शाखाको कन्भेनर सुधा प्रधान र मुख्य सल्लाहकार देवप्रसाद प्रधान आदिको उपस्थिति रहेको जानकारी प्राप्त भएको छ। उक्त सर सफाई कार्य विषयम नेवा बुध्दिष्ट कल्याण संगठनको केन्द्रीय उप सभापति पुष्प प्रधानले बताएका छन्। उनले नेवार सांस्कृतिक चाढ़ सिथी नख: अनुसार विभिन्न खोला नाला सर सफाई गर्ने गरेकोले बताएका छन्।