विराटनगर: मोरङको जहदा गाउँपालिकामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन्।मंगलबार जुन ११, राति १० बजेतिर जहदा(४ रामचोकमा जहदामा तीन जना सवार मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो। रामचोक पोखरिया सडकखण्डमा रामचोकबाट पोखरियातर्फ जाँदै गरेको साइकललाई विपरीत दिशाबाट आँउदै गरेको को ७ प १५०१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। जसमा साइकल यात्री रंगेली नगरपालिका ७ बस्ने अन्दाजी ६० वर्षका रामप्रसाद मण्डल, मोटरसाइकल चालक विराटनगर महानगरपालिका २ बस्ने अन्दाजी २५ वर्षका महाकान्त कामत घाइते भएका छन्। यस्तै, मोटरसाइकलमा पछाडि सवार भारतको उत्तर प्रदेश बस्ने २६ वर्षीय सुरेन्द्र राजपुत र पछाडि सवार सो स्थानका अन्दाजी २६ वर्षका रोहित माहल घाइते भएका हुन्। उनीहरूलाई उपचारको लागि कोशी अस्पताल, विराटनगर ल्याइएको पुलिसले जनाएको छ। मोटरसाइकलमा तीन जना चढेर तीव्र गतिमा कुदाउँदा दुर्घटना भएको पुलिसको प्रारम्भिक अनुसन्धानले औंल्याएको छ।