सुकना: आफ्नो प्रतिभा, कठोर मेहनत, अनुशासन र खेल प्रति समर्पणको साथ तेजीको साथ अघि बढ़्ने सुकनाका युवा फूटबलर अयुष बराईलीले शीर्ष स्तरमा खेल्ने अवसर पाएका छन्। वास्तवमा यस १६ वर्षीय विंगरलाई इण्डियन सुपर लीग (आईएसएल)-को फ्रेञ्चाइजी नर्थ-ईष्ट युनाइटेड फूटबल क्लबको अण्डर-१७ टीममा चयन भएको छ। पिता किशोर बराईलीको निरन्तर प्रोत्साहन र स्थानीय प्रशिक्षकहरूका कुशल मार्गदर्शनमा अयुषले गत केही समयदेखि स्थानीय टुर्नामेण्टहरूमा असाधारण प्रदर्शन गरी आफ्नो छाप छोड़ेका थिए। सुकना हायर सेकेण्डरी स्कूलका छात्र अयुषले पहिला सिक्किम अनि पछिबाट गुवाहटीमा भएको ट्रायलमा हिस्सा लिएर यस प्रतिष्ठित क्लबको हिस्सा बन्ने मौका पाएका छन्। अयुषले यस साल भएको सुकना गोल्ड कपमा सुकना युनाइटेड एफसी-को प्रतिनिधित्व गरेका थिए। यस युवा खेलाड़ीको अभूतपूर्व सफलतामा सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनका महासचिव लेखनाथ गिरी र अध्यक्ष सञ्जय छेत्रीले खुशी व्यक्त गर्नको साथै अयुषलाई बधाई एवम् शुभकामना दिएका छन्।