काेलकात्ता: राज्यका युवा क्रिकेटरहरूको प्रतिभा प्रदर्शन गर्ने प्ल्याटफर्म मानिएको “बंगाल प्रो टी-२० लीग” ११ जूनबाट शुरु भइसकेको छ। यसमा “लक्स श्याम कलकत्ता टाइगर्स”-का खेलाड़ीहरू आफ्नो प्रतिभा देखाउन र बंगालको क्रिकेट परिदृश्यमा परिवर्तनकारी अध्याय लेख्न तयार छन्। श्याम स्टिल ग्रुप र लक्स कोजी-को संयुक्त प्रयास “कलकत्ता टाइगर्स”-ले कोलकाता र हुगली जिल्लाका उत्कृष्ट क्रिकेट प्रतिभाहरूलाई एउटै ब्यानरमा ल्याएको छ।
क्रिकेट एसोसिएसन अव् बंगाल (क्याब- द्वारा शुरु गरिएको “बंगाल प्रो टी-२० लीग” प्रतियोगिताको अन्य फ्रेञ्चाइजी मध्ये एक “लक्स-श्याम कलकत्ता टाइगर्स” का खेलाड़ीहरू यस टुर्नामेण्टमा आफ्नो म्याचको माध्यमले राज्यको क्रिकेट प्रतिभाको ताकत र समृद्धि प्रदर्शन गर्न उत्सुक छन्। यस टी२० लीगमा पुरुष टीमको कप्तानी विकेटकिपर-ब्याटर अभिषेक पोरेलले गर्नेछन् भने महिला टीमको नेतृत्व दाहिने हातकी अफब्रेक बलर मीता पालले गर्नेछिन् । मुख्य प्रशिक्षक शिवशंकर पालले पुरुष टीमलाई सहायक प्रशिक्षक कञ्चन माइतीसँगै मिलेर प्रशिक्षण प्रदान गर्नेछन् । यसरी महिला टीमका मुख्य प्रशिक्षक चरणजीत सिंह नायर र सहायक प्रशिक्षक तृषा बेरा हुनेछन्।

बंगाल प्रो टी२० लीग एक ऊर्जावान, उत्साही र रोमाञ्चक सीजनको निम्ति तयार छ। यसमा १८ सदस्यीय पुरुष र १६ सदस्यीय महिला टीमले प्रतिष्ठित इडेन गार्डन र बीसीसीआई प्रमाणित जादवपुर विश्वविद्यालय सल्ट लेक परिसरको मैदानमा ३१ वटा म्याच खेल्नेछन्। यस टूर्नामेण्टको प्रत्येक म्याचको सीधा प्रसारण स्पोर्ट्ल १८, जियो सिनेमा, फ्यानकोड र एयर बांग्ला जस्ता डिजिटल स्ट्रिमिङ प्लेटफर्महरूमा गरिनेछ।
राज्यका प्रख्यात उद्योगपति तथा लक्स कोजी-का संस्थापक साकेत तोदीले भने, “हामी लक्स श्याम कलकत्ता टाइगर्स मार्फत बंगाल प्रो टी२० लीगको हिस्सा बन्न पाउँदा धेरै उत्साहित छौं। हाम्रो लक्ष्य स्थानीय प्रतिभाहरू खोज्नु र युवा खेलाड़ीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूको उपस्थिति महसुस गराउनको लागि प्ल्याटफर्म प्रदान गर्नु हो।”

यसरी श्याम स्टीलका निदेशक तथा कलकत्ता टाइगर्स टीमका सह-मालिक ललित बेरीवालाले भने, “हाम्रो उद्देश्य क्रिकेटप्रति सामुदायिक भावनालाई टेवा प्रदान गर्नु हो। यस प्ल्याटफर्म मार्फत युवा प्रतिभाहरूमा खेलकुद सीप विकास गर्ने र युवाहरूमा क्रिकेटप्रतिको मायालाई अझ बढ़ाउने उद्देश्य रहेको छ।” उल्लेखनीय छ, भारतीय राष्ट्रिय पुरुष टीमका पूर्व कप्तान तथा बीसीसीआईका पूर्व अध्यक्ष सौरभ गांगुली र पूर्व महिला क्रिकेट खेलाड़ी झुलन गोस्वामीले यस टी२० लीगमा मेण्टोरको भूमिका निर्वाह गर्नमा सहमति जनाएका छन्।