बिराटनगर: मोरङको विराटनगर महानगरपालिका ४ दुधफारमस्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा इटहरीका एक युवकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। नेमुवाबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०४–००१ ज ००१४ नम्बरको म्याजिक र बाटो क्रस गर्दै गरेको ना ७ ख १८७६ नम्बरको ट्याङ्कर एकापसमा ठक्कर भई दुर्घटना भएको हो। दुर्घटनामा म्याजिक चालक इटहरी १७ का ३० वर्षीय तिलक साहको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो। म्याजिकमा सवार विराटनगर – ६ का ३६ वर्षीय शंखरप्रसाद शर्मा, ३५ वर्षीय मुन्नाकुमार दास, दुहबी- २ का ४० वर्षीय सबिना खातुन, रंगेली- ८ का २४ वर्षीय अमित सरदार र चुईचुम्मा गाउँपालिका – ७ खोटाङका २२ वर्षीय सजिन मगरको सो अस्पतालमा उपचार भइरहेको पुलिसले जनाएको छ।दुर्घटनामा संलग्न ट्याङ्कर र चालक सप्तरीका ३६ वर्षीय सञ्जीव कुमार ठाकुर जिल्ला पुलिस कार्यालय मोरङको नियन्त्रणमा रहेका छन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।