जनकपुर: व्यावसायिक आरोहणका रूपमा जटिल मानिएको विश्वको छैटौँ सर्वोच्च शिखर चोयु हिमालमा नेपालतर्फबाट पहिलो पटक नयाँ रुट भएर ६ नेपालीसहित ७ जना आरोहीले सफल आरोहण गरेका छन्। फ्रान्सेली पर्वतारोही अलासडेयर म्याकेन्जीको नेतृत्वमा तेन्जिङ ग्याल्जेन शेर्पा, गेल्जे शेर्पा, छाङ्बा शेर्पा, लाक्पा तेब्बा शेर्पा र निग्मा वाङ्दा शेर्पाले जुन ७ तारिख शुक्रबार चोयु शिखर आरोहण गरेको छ। नेपालतर्फबाट नयाँ रुटबाट भएको यो पहिलो आरोहण भएको यो आरोहणको व्यवस्थापन गर्ने सेभेन समिट ट्रेक्स प्रालिका समेत सञ्चालक रहेका टासी लाक्पा शेर्पाले जनाए ‘चोयु आरोहण तिब्बतर्फबाट सजिलो छ। तर नेपालबाट यो पटक हामीले नयाँ रुटबाट आरोहण सम्पन्न गरेका छौं। व्यावसायिक रूपमा तिब्बतको दाँजोमा अब यो रुट आरोहीहरूका लागि सजिलो हुने अपेक्षा छ।’ तिब्बतबाट आरोहणको अन्य खर्च तथा अनुमति लिनुभन्दा नेपालबाट सस्तो र सजिलो हुने उनको भनाइ छ। खुम्बु क्षेत्रको नाम्चे बजारबाट थामे हुँदै चोयु हिमालको आधार शिविर पुगिन्छ। यो नयाँ रुटमा आरोहण गर्न फ्रान्सेली पर्वतारोही अलासडेयरसहितको टोली डेढ महिनादेखि त्यहीँ थियो। ‘यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि खुम्बु क्षेत्रको यो नै अन्तिम आरोहण हो,’ टासी लाक्पाले भने, ‘यो टोलीले चुचुरोमा पुग्न ३ दिन लगाएको थियो ।बिहीबार राति २ बजे चोयुको चौथो शिविरबाट उक्लिएका आरोही शुक्रबार राति ८ बजे चुचुरोमा पुगेका थिए। सेभेन समिटले यस आरोहणलाई नेपालको पर्वतारोहण क्षेत्रका लागि ऐतिहासिक भएको जनाउँदै उनीहरूलाई स्वागत गर्न रविबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनल कार्यालयमा सम्मान कार्यक्रम राखेको थियो। तर खराब मौसमका कारण उडान नहुँदा ६ नेपालीसहित ७ जना चोयूका आरोही लुक्लाबाट काठमांडू आउन सकेनन्। चोयुमा पहिलो पटक १९५४ मा तिब्बतर्फबाट अस्ट्रेलियन आरोही हर्बट टीचीसहितको आरोण दलले पहिलो पटक आरोहण गरेको थियो। सगरमाथाभन्दा २० किलोमिटर पश्चिममा रहेको यो हिमाल चीन र नेपालको सीमामा पर्दछ। नेपालबाट आरोहण गर्ने पुरानो रुटलाई आरोहीहरूले ज्यादै चुनौतीपूर्ण र कठिन मान्दै आएका थिए।