काठमांडू: नागढुंगा–सिस्नेखोला सुरुङ जाने फ्लाइओभर निर्माणको काम ५० प्रतिशत सकिएको छ। गत अप्रिल २७ मा मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै बाह्य संरचना निर्माणलाई तीव्र पारिएको छ। अहिले सुरुङभित्र फिनिसिङको काम भइरहेको छ। सुरुङमा लाइनिङ, अक्सिजन, लाइट आदि व्यवस्थापनको काम हुँदै छ ।काठमांडू तर्फ बलम्बुमा निर्माणाधीन फ्लाइओभरमाथि गाडी हिँड्ने ‘सुपरस्ट्रक्चर’ को काम भइरहेको छ। कुनै समस्या आइनपरे एक वर्षभित्र सवारी चलाउने गरी फ्लाइओभर र सुरुङमा काम भइरहेको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले जनाए। ‘फ्लाइओभर निर्माणको काम धमाधम भइरहेको छ, सुरुङ फिनिसिङ गर्ने काम पनि जारी छ। सुरुङभित्र सडक ढलानको काम पनि हुँदै छ,’ उनले भने, ‘निर्माणका क्रममा कुनै समस्या आइनपरे एक वर्षमा सुरुङबाट गाडी गुडाउन मिल्छ।’ आर्थिक वर्ष २०२४/२५ सालको बजेट वक्तव्यमा उक्त सुरुङ निर्माणको सबै काम सकेर यातायात सञ्चालनमा ल्याइने उल्लेख छ। बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटीपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ। यसमध्ये १.९९५ किलोमिटर कालोपत्र भइसकेको छ। धादिङको सिस्नेखोलातर्फ ७ सय २५ मिटरमध्ये ४ सय ५० मिटर पहुँच सडक निर्माण भइसकेको छ। पहिला यस खण्डमा ५ सय ६५ मिटर सडक मात्र बनाउने भनिएको थियो। पछि १ सय ६० मिटर थप गरेर काम गरिएको आयोजनाले जनाएको छ। अन्य संरचनामा तीन वटा पुल र ६ वटा कल्भर्ट निर्माणको काम सकिसकेको छ। मुख्य सुरुङबाट आपत्कालीन सुरुङमा जाने सात वटा द्वार निर्माण गरिएको छ ।सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य नागढुंगा उकालोमा हुने ट्राफिक जामको व्यवस्थापन नै रहेको आयोजनाले जनाएको छ। मुख्य सुरुङमा दुई लेनको सडक हुनेछ- एउटा जाने र एउटा आउने हुनेछ। अहिले नागढुंगाबाट साना–ठूला गरेर दैनिक करिब १० हजार सवारी ओहोरदोहोर गर्छन्। सुरुङ सञ्चालनमा आएपछि इन्धनको बचत र सवारीसाधन बिग्रने खतरा कम हुने आयोजनाको भनाइ छ।सुरुङमार्गमा यातायातका सवारी चलाएबापत टोल शुल्क लिने कुरा आएपछि यसबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही निर्णय गरी सकेको छैन। पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन, मोटरसाइकल र ओभर लोड सवारीले सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन्। सुरुङमार्गको निगरानी सीसी क्यामराबाट गरिनेछ। सुरुङमार्ग सञ्चालन गर्ने छुट्टै टोली बन्नेछ ।अहिले काठमांडूर धादिङ दुवैतर्फ निर्माणको काम भइरहेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख विजय जैशीले बताए। ‘धादिङतर्फ रोड साइड सर्भिस स्टेसन बनाउनुपर्नेछ, जुन खण्ड सुरुङ नजिकै पर्छ,’ उनले भने, ‘त्यस ठाउँमा ५ वटा घर पर्छन्, त्यसलाई व्यवस्थापन गर्ने काम भइरहेको छ।’ काठमांडूतर्फका स्थानीयसँग पनि निरन्तर संवादमा रहेर समस्या समाधानको प्रयास भइरहेको आयोजनाले जनायो। सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ। २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ। यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ। यो आयोजना निर्माण सुरु भएको ५४ महिना भइसकेको छ। आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ भने गत जुलाई ९ मा भएको थियो। यसको दूरी २५५७ मिटर छ।

सुरु सम्झौताअनुसार आयोजनाको समयावधि २०२३ अप्रिलसम्म थियो। उक्त समयभित्र काम नसकिएपछि २०२४ अप्रिल २८ सम्म म्याद थपिएको थियो। तर उक्त समयमा पनि काम नसकिँदा फेरि डेढ वर्ष म्याद थपिएको छ। उक्त समयभित्र सुरुङको सबै काम सकिसक्ने आयोजनाको दाबी छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्गको ४२ महिनाभित्र काम सक्ने गरी काठमांडूतर्फको टुटीपाखामा २०१९ नवंबर ४ मा शिलान्यास गर्नु भएको थियो। तर कोभिड महामारी र पटक–पटकका स्थानीयको अवरोधले गर्दा झन्डै एक वर्ष ढिला सुरुङ छिचोलिएको हो।