सदर थानामा प्राथमिकी दर्ता
गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले राज्यमा चुनाउपछि भइरहेका हिंसाको भत्सर्ना जनाउॅंदै सदर थानामा प्राथमिकी दर्ता गराएको छ। एसडीएफ पार्टीका पूर्व विधायकहरूले आज सदर थानामा अज्ञात व्यक्तिहरूमाथि ढुङ्गा प्रहार र तोड़फोड़ गरेको आरोप लगाउॅंदै प्राथमिकी दर्ता गराएको छ।
एसडीएफ पार्टीको वरिष्ठ उपाध्यक्ष पीडी राईले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, उदय लामा, मिचुङ भोटिया, नोरजाङ लेप्चा, भाइचुङ भोटिया र आशिष राईको घरमा तोड़फोड़ गरिएको छ। सबै पीडितहरूले पुलिस थानामा शिकायत गरेका छन्। एसएचओले दोषीहरूलाई पक्राउ गर्ने वचन दिएका छन्।
यस अघि, मतगणनापछि सोरेङ, पोकलोक कामराङ र नाम्चीमा धेरै हिंसात्मक घटना भएको एसडीएफले दाबी गरेको छ। यस क्रममा धेरैको घर तोडफोड गरिएको र धेरै घाइते बनेको बताइएको छ। एसडीएफले प्रभावित मानिसहरूको सूची स्पेशियल डीजीपी अक्षय सचदेवलाई सुम्पेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
एसडीएफले अधिकारीहरूलाई राज्यमा कानून व्यवस्था सुनिश्चित गर्न अपील गरेको छ। दोषीहरूलाई पक्राउ गरेर कानुन अनुरूप कारबाही गरिनुपर्छ भनी एसडीएफले माग पनि गरेको छ।