गान्तोक: याङगाङ मजुवा गाउँमा पैह्रोको कारण घर गुमाएका पीडितहरुको निम्ति सिक्किम गरीब आवास योजना (एसजीएवाई) अन्तर्गत नयाँ घर निर्माण र क्षतिपूर्ति भुक्तानीको लागि मन्त्री परिषदको बैठकले स्वीकृति दिएको छ। मुख्यमन्त्री प्रेम सिंह गोले र मन्त्री परिषदका सदस्यहरुले पाल्जोर स्टुडियममा शपथ लिएपछि बेलुकी मुख्यमन्त्री गोलेको अध्यक्षतामा सम्पन्न मन्त्री परिषदको बैठकमा राहत र क्षतिपूर्ति भुक्तानीको लागि स्वीकृति दिएको हो।
उल्लेख्य, 9 जूनको राति परेको मुसलधारे पानीको कारण नाम्ची जिल्लाको याङगाङ समष्टिको दर्जनौं ठाउँहरुमा व्यापक क्षयक्षति पुर्याएको छ। मजुवा गाउँमा सबैभन्दा ज्यादा भल-पैह्रोले ताण्डव मच्चाए, जहाँ तीनजनाले ज्यान गुमाए भने आठवटा घरलाई पैह्रोले क्षतविक्षत बनाएका छन्। पैह्रोको चपेटमा परेर गम्भीर घाइते बनेका एकजनाको उपचार अस्पताल चलिरहेको छ। अर्कोतिर नाम्ची जिल्ला प्रशासन, याङगाङ महकुमा प्रशासन, बीडीओ, पुलिस प्रशासन, स्थानीय पञ्चायत, संघ-संस्था र स्थानीय नागरिकहरु बचाउ र राहत कार्यमा हिजो बिहानैदेखि जुटेका थिए। पैह्रो पीडितहरुलाई प्रशासनले सुरक्षित स्थानमा सारेका छन्।