न्यूयोर्क: आईसीसी टी२० वर्ल्ड कपको अझ एउटा रोमाञ्चक म्याचमा दक्षिण अफ्रिकाले बंग्लादेशलाई ४ रनले पराजित गऱ्यो। ग्रुप डी-को यस म्याचमा जीत हासिल गरी दक्षिण अफ्रिका ३ वटा म्याचमा ६ पोइण्ट्सको साथ शीर्ष स्थानमा पुग्यो। न्यूयोर्कको नासाउ इण्टरनेशनल क्रिकेट स्टेडियममा सोमवार राति खेलिएको म्याच भारत र पाकिस्तानबीच म्याच झैं लो स्कोरिंग तर चरम रोमाञ्चक रह्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो। त्यसपछि बंग्लादेशको टीम एक समय ४ विकेटमा ९४ रन बनाएर जीतको नजिक पुगिसकेको थियो तर दक्षिण अफ्रिकी बलरहरूले पनि असाधारण बलिंग गरेर आफ्नो टीमलाई जीत दिलाए। यसरी बंग्लादेशले आफ्नै गल्तीले गर्दा जित्ने म्याच गुमायो। अन्तमा बंग्लादेशले २० ओभरमा ७ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो। खराब शुरुवातपछि म्याचमा बंग्लादेशको तर्फबाट तौहिद हृदोयले ३७ र महमुदुल्लाहले २० रन बनाए। शीर्ष क्रममा कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। दक्षिण अफ्रिकी बलरहरूमा स्पिनर केशव महाराजले सर्वाधिक ३ विकेट लिए। यसबाहेक कगिसो रबाडा र एनरिच नोर्खियाले २-२ विकेट हासिल गरे। यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाको शुरुवात निराशाजनक रह्यो अनि २३ रनमै ४ विकेटको पतन भइसकेको थियो। त्यहाँबाट हेनरिक क्लासेनले डेविड मिलरसँग पाँचौं विकेटको निम्ति ७९ रनको पार्टनरशीप गरी टीमलाई सम्मानजनक स्कोरसम्म पुऱ्याए। क्लासेनले ३ वटा छक्का र २ वटा चौकाको साथ ४४ बलमा ४६ रन बनाए। मिलरले २९ रनको योगदान दिए। बंग्लादेशका बलरहरूमा तञ्जीम हसन साकिबले ३ र तस्कीन अहमदले २ विकेट लिए।