झापा: झापाको कमल गाउँपालिका वडा नम्बर ५ साविक लखनपुरको मंगलमय माध्यमिक विद्यालयका शिक्षकलाई यतिबेला विगत झै कति बेला विद्यार्थी बेहोस होलान् र उपचारमा कहाँ पुरयाउनु पर्ने हो ? भन्ने पिरलो छैन। न कोही विद्यार्थीको चिन्ता छ, न पढाईमा स्वास्थ्य सम्बन्धीको चर्चा गर्नुपर्ने हैरानी नै छ। चारबर्ष अघिबाट शुरु भएको विद्यालय नर्सिङ सेवा कार्यक्रमले विद्यालय र शिक्षकहरुलाई राहत पुगेको छ। विद्यालयमा विशेष गरि विद्यार्थीहरुको स्वास्थ्य सम्बन्धी समस्या आउँदा व्यहोर्नुपर्ने हैरानीबाट मुक्त गराएको छ नर्सिङ कार्यक्रमले ।विद्यालयका निमित्त प्रधानाध्यापक डम्बरुप्रसाद पोखरेल भन्छन,‘विद्यालय नर्स कार्यक्रमले यहाँ धेरै नै ठुलो सहयोग पुगेको छ। विद्यार्थीहरुमा एक्कासी मुर्छा पर्ने, काँप्ने, ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने समस्या हुदाँ उपचारका लागि हिजोआज कहीकतै जानुपर्दैन। तत्काल विद्यालयको स्वास्थ्य इकाईमा सम्पर्क गरे पुगिहाल्छ। ’विद्यालय नर्स कार्यक्रमका कारण मंगलमयमा अभिभावक र विद्यार्थीहरुको आकर्षण पनि बढ्दो छ। यो कार्यक्रम शुरु हुनुअघि यहाँ १ हजार भन्दा केही मात्रै बढी संख्यामा विद्यार्थीहरु रहेको भएपनि शैक्षिक सत्र २०२४ मा आइपुग्दा सो संख्या बढेर १ हजार ३ सय पुगेको छ। तीन सय विद्यार्थी संख्या पनि थप भएको छ र विद्यालयमा नै औषधी उपचार पनि हुन्छ भन्ने सन्देश गएपछि विशेष गरि आर्थिक रुपमा विपन्न समुदायका अभिभावकहरुको मन जित्न xसहज भएको निमित्त प्रधानाध्यापक पोखरेलको भनाई छ। २०२० सालको सुरुदेखिएको कोभिड–१९ महामारीपछि विद्यालय खुल्दा तत्कालीन एक नम्बर प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले यस विद्यालयमा नर्स कार्यक्रम सञ्चालनका लागि अनुमति दिएको थियो। मंगलमय माविमा नर्सको जिम्मेवारी सम्हालिरहेकी मुना अधिकारी भन्छिन्, ‘विद्यालयमा बालबालिकालाई अकस्मात पर्नसक्ने स्वास्थ्य समस्याको तत्काल निराकरण, तथा प्राथमिक उपचारको व्यवस्था मिलाउने हामी विद्यालय नर्सको प्रमुख जिम्मेवारी र दायित्व हो। तर हामीले यो कार्यक्रमलाई यत्तिमै सिमित राखेका छैनौं स्वास्थ्य चेतना जगाउने कार्यक्रमहरु पनि बार्षिक, मासिक कार्यतालिका बनाएर नै सञ्चालन गर्ने गरेका छौं।’विद्यालयमा नर्स अधिकारीको संयोजकत्वमा छुट्टै स्वास्थ्य इकाई राखिएको छ। सो इकाईले विद्यालय समयभित्र विद्यार्थीलाई अकस्मात आइपर्ने स्वास्थ्य समस्याको हल कसरी गर्ने ? स्वास्थ्य चेतना सम्बन्धी के कस्ता कार्यक्रम चलाउने भन्ने कार्ययोजना बनाउने गरेको छ। इकाई प्रमुख विद्यालय नर्स अधिकारी नियमित रुपमा विद्यालयमा रहेर आकस्मिक रुपमा आवश्यक पर्ने प्राथमिक उपचारको काममा खटिने गरेकीछिन्। नर्स अधिकारीले भनिन्, ‘विद्यालयमा बेला बेला स्वास्थ्य सम्बन्धीका जनचेतनामुलक कार्यक्रमहरु पनि हाम्रो स्वास्थ्य इकाईले गर्ने गरेको छ। यसमा विद्यार्थीसँगै उनीहरुका अभिभावकहरुलाई पनि जोड्ने गरेका छौं । विश्व क्यान्सर दिवस, पोलियो उन्मुलन, अन्य खोप तथा राष्ट्रिय स्वास्थ्य कार्यक्रमहरु पनि आयोजना गर्ने गरिएको छ । यस्ता अवसरमा विद्यार्थी र अभिभावकहरु समेत स्वास्थ्य सचेतनाबाट लाभान्वित हुने अपेक्षा गरेकाछौ।’विद्यालयमा सञ्चालित विद्यालय नर्स कार्यक्रमका माध्यमबाट विद्यार्थीहरुले टिफिनको समयमा खाने खाजाको गुणस्तर निगरानीमा पनि उत्तिकै सहयोग पुगेको शिक्षकहरुको बुझाई छ। शिक्षक कुमार कटुवाल भन्छन्, ‘विद्यालयमा खाने खाजा कस्तो हुनुपर्छ भनेर नर्सले भनेपछि हामी शिक्षकहरुले भनेको भन्दा विद्यार्थी अभिभावकहरु स्वास्थ्यकर्मीले दिएको सरसल्लाह र सुझावलाई बढी विश्वास गर्दा रहेछन। जसलाई हामीले समेत सकारात्मक रुपमा लिने गरेकाछौ।’‘ विद्यालयमा सुस्तश्रवण भएका विद्यार्थीहरुको विशेष कक्षा समेत सञ्चालनमा रहेको हुँदा विद्यालय नर्स सेवाको महत्व यो विद्यालयमा अझै धेरै भएको पाएकाछौ। नर्स कार्यक्रमको अर्को सुखद पक्ष हामीले यसलाई पनि लिएकाछौ।,’ शिक्षक कटुवालले गंभीर हुदैँ भने।नर्स कार्यक्रमले विद्यार्थी तथा अभिभावकहरुमा खानपान पोषण, सरसफाई, रहनसहन, किशोर किशोरीको प्रजनन स्वास्थ्यबारे जनचेतना जगाउन पनि उत्तिकै योगदान पुराइरहेको छ ।हाल गाँउपालिकाभित्र नर्स कार्यक्रम मंगलमय विद्यालयमा मात्र सीमित रहेको छ। गाँउपालिकास्थित शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सूर्य न्यौपाने भन्छन्, ‘हाल यो कार्यक्रम सोही मंगलमय विद्यालयमा मात्र रहेको छ। कार्यक्रममा स्थानीय, अभिभावक, विद्यालयको आकर्षण देखिरहदाँ र स्वास्थ्यकर्मी, शिक्षकको लगन हेर्दा अन्य सामुदायिक विद्यालय र नीजि विद्यालयमा समेत यो कार्यक्रम आवश्यक्ताको महसुस भएको छ।’ न्यौपानेका अनुसार किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारको आवश्यकता महसुस गरी संघीयतापछि आर्थिक बर्ष २०७५÷०७६ मा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याउने योजना बनाएको थियो। विद्यालय नर्स मार्फत किशोरकिशोरीलाई प्रजनन स्वास्थ्य, महिनावारी, स्वास्थ्य तथा सरसफाइसम्बन्धी परामर्श सेवा निक्कै सहज र प्रभावकारी बन्दै आएको छ।कार्यक्रम अन्तर्गत परिवार नियोजन, यौन तथा यौनिकता, व्यक्तिगत र वातावरणीय सरसफाई तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी परामर्श सेवा प्रदान गर्ने गरिएको छ। यसैगरी, स्वास्थ्य सम्बन्धी ज्ञान, स्वस्थकर खानपिनका सम्बन्धमा परामर्श र विद्यालय स्वास्थ्य इकाई निर्माण गरी विद्यार्थीलाई स्वास्थ्य सेवा पनि प्रदान गरिँदै आएको छ। सामान्य स्वास्थ्य परीक्षण, पोषण लेखाजोखा, नियमित स्वास्थ्यबारे जानकारी गराउन, प्राथमिक उपचारको व्यवस्था, अभिभावक–बालबालिकाको स्वास्थ्य र स्वास्थ्यका बारेमा जानकारी गराउने लगायतका काम पनि विद्यालय नर्सले गर्ने गरेका छन्। पछिल्लोसमय कोशी प्रदेश सरकारसंग नर्सिङ कार्यक्रम माग गर्ने विद्यालयहरुको संख्या बढ्दो रहेको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ। निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार सुरुमा यस कार्यक्रम प्रत्येक पालिकामा समान एक विद्यालयमा सञ्चालन गर्ने भनेर अघि बढाइएको हो। चालु आर्थिक वर्षमा प्रदेशका विभिन्न १३ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालनका लागि स्वीकृत भइसकेको उनको भनाई छ। निर्देशनालय प्रमुख बस्नेतले भने, ‘यही आर्थिक वर्षभित्र प्रदेशका विभिन्न १ सय ७३ विद्यालयमा यो कार्यक्रम पुग्दैछ। विद्यालयमा विशेषगरि किशोरीहरुले आफ्नो स्वास्थ्य समस्याका कारण पढाई रोक्ने, छोड्ने समस्या रहेको थियो। यस्ता घटनाक्रमलाई रोक्नसमेत नर्सिङ कार्यक्रम सञ्चालन गरिएको हो। यसको सकारात्मक प्रभाव परेको रिर्पोटिङ सम्बन्धित विद्यालयहरुबाट कार्यालयमा आइरहेको छ। ’तत्कालिन अवस्थामा सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको यो कार्यक्रम प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना भएपछि २०२२ सालबाट प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत अघि बढेको छ। तर, यस कार्यक्रमका लागि विद्यालयमा विद्यार्थी संख्या भने कम्तीमा १ हजार हुनुपर्ने प्रावधान रहेको छ। स्वास्थ्य मन्त्रालय, स्थानीय तह र विद्यालयबीच त्रिपक्षीय सम्झौतागरि कार्यक्रम सञ्चालन तथा व्यवस्थापन हुदै आएको छ। जनप्रतिनिधिको साथले अंग्रेजी माध्यम निःशुल्कमुलुकमा संघीयता कार्यान्वयनसंगै बिद्यालय तहको शिक्षा स्थानीय सरकारको मातहतमा आएपछि अधिकांश सामुदायिक बिद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेका छन्। बिद्यालयमा आवश्यक जनशक्ति र भौतिक पूर्वाधारहरुको व्यवस्थापनमा प्रदेश सरकार र स्थानीय सरकारले भरथेग गरिदिँदा सरकारी (सामुदायिक) विद्यालयमा पनि नीजि विद्यालयमा सरह अंग्रेजी माध्यमको पठनपाठन गराउने वातावरण सहज बनेको हो। झापाको दमक नगरपालिकाले यसैबर्षदेखि नगरभित्र रहेका २१ वटा सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अनिवार्य अंग्रेजी माध्यमबाट निःशुल्क शिक्षा प्रदान गर्ने कार्यक्रम शुरु गरेको छ। यद्यपी, यो अभ्यास दमककै कतिपय विद्यालयका लागि भने नौलो होइन। २०२२ सालको स्थानीय तह निर्वाचनपछि दमकको एक विद्यालयले कक्षा ५ सम्म निःशुल्क अंग्रेजी माध्यमबाट पढाइ शुरु गरेको थियो ।दमकको वडा नम्बर–७ मा रहेको पृथ्वी माध्यमिक विद्यालयले गत बर्षदेखिनै कक्षा ५ सम्म अंग्रेजी माध्यम निःशुल्क पठनपाठन गराइरहेको छ, भने यो बर्षदेखि कक्षा ७ सम्म अंग्रेजी माध्यमको निःशुल्क शिक्षा दिन शुरु गरेको छ। सोही वडाका अध्यक्ष भीम पौडेलका अनुसार सामुदायिक विद्यालयको शैक्षिक अवस्थाप्रति सर्वसाधारणको हेर्ने नजर र बुझ्ने अर्थलाई फरक बनाउन वडाले पहलकदम चाल्दै आएको छ। वडा नम्बर ७ को वडा कार्यालयले शिक्षालाई विशेष प्राथमिकतामा राखेर बजेटको बन्दोबस्ती गरिदिएका कारण सो बिद्यालयले गत बर्षनै कक्षा ५ सम्म पूर्ण निःशुल्क शिक्षा प्रदान गरिरहेको विद्यालयका प्रधानाध्यापक बिष्णुबहादुर राईले जानकारी दिए। पृथ्वी माविमा स्थानीय सरकारले भर्ना र मासिक शुल्क मात्र नभएर अंग्रेजी माध्यमका पाठ्यपुस्तकको व्यवस्था पनि निःशुल्क उपलब्ध गराउँदै आएको छ। प्रधानाध्यापक राईका अनुसार चालू शैक्षिक सत्र २०८१ देखि अनिवार्य अंग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन गराउन थालिएको छ। वडा कार्यालयको सिफारिसमा विद्यालयको कक्षा ८, ९ र १० मा पनि विपन्न परिवारका बिद्यार्थीहरुले निःशुल्क भर्नाको अवसर पाएका वडाध्यक्ष पौडेलले जानकारी दिए ।तीन वटा कक्षामा हाल ३० जना बिद्यार्थीले निःशुल्क पढिरहेका छन भने कक्षा ७ सम्म करिब ६ सय बिद्यार्थीले पूर्ण निःशुल्क अंग्रेजी माध्यमबाट पढ्न पाइरहेकाछन् ।वडाध्यक्ष पौडेलसहित वडा कार्यालयले निःशुल्क शिक्षा कार्यान्वयनका लागि विशेष प्राथमिकतामा राखेर अपुग शिक्षक र भौतिक पूर्वाधारको व्यवस्थापनमा बजेट बन्दोबस्ती गरिदिएका कारण यो सम्भव भएको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक राईले भने, ‘बिद्यार्थीको चाप थेग्नसक्ने गरिको भौतिक पूर्वाधारको बिकासमा पनि वडाले उत्तिकै ध्यान दिएको, शिक्षक, अभिभावक र सरोकारवालाहरुको पनि सक्रिय योगदानका कारण यो विद्यालयमा निःशुल्क अंग्रेजी माध्यम सहज बनेको हो’। १९५६ सालमा स्थापना भएको पृथ्वी माध्यमिक विद्यालयले विगत ६÷७ बर्षयता मावि तहको तहगत अनुमति पाएपनि स्वीकृति भने पाउन सकेको छैन।
माध्यमिक तह स्वीकृत नहुँदा मुख्यः गरी यसका लागि चाहिने शिक्षकको दरबन्दी अभाव छ। दरबन्दी अभाव हुँदा हुँदै पनि यस विद्यालयमा स्थानीय सरकारको साथ, सहयोग र जनप्रतिनिधिहरुको सामुदायिक शिक्षाप्रतिको दृढ अठोटका कारण हाल कक्षा ७ सम्मनै अंग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन सम्भव भएको हो।
विद्यालयमा माध्यमिक तहका २ जना शिक्षक सिकाई अनुदान अन्तर्गत छन् भने निमा तहतर्फ ४ जनाको दरबन्दी छ।

प्राथमिक तहमा भने एक जना राहतका समेत गरि विद्यालयमा कूल १७ जनाको दरबन्दी छ । मातृभाषा र कम्प्युटर शिक्षकतर्फ समान एक जना नीजि स्रोतबाट व्यवस्थापन गरिएको छ। विद्यालयले स्थानीय पाठ्यक्रममा आधारित हाम्रो दमकको पनि पठनपाठन गराउँदै आएको छ।
वडा कार्यालयले गत बर्ष विद्यालय सञ्चालनमा कूल ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने यो बर्ष कक्षा ७ सम्मनै पूर्ण निःशुल्क र सो भन्दा माथि पनि आर्थिक विपन्नता भएका विद्यार्थीलाई निःशुल्क अध्ययन गराइरहेका कारण थप बजेट विनियोजन गर्ने तयारी रहेको वडाध्यक्ष पौडेल बताउँछन्।
वडाध्यक्ष पौडेलले बिद्यालयमा जे जति आवश्यक पर्छ त्यो वडाले ब्यहोर्ने बताउँदै कोही पनि बालबालिका विद्यालय तहको शिक्षाको अधिकारबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्य राखेर अघि बढेको उल्लेख गरे।