बेलबारीमा चारवर्ष अघि भेटिएको माछा ‘गैह्रदेशीय’ नयाँ प्रजाति भएको पुष्टि

IMG-20240611-WA0114.jpg

बिराटनगर: मोरङको बेलबारी र धनपालथानमा माछाको गैह्रदेशीय प्रजाति पत्ता लागेको छ। दक्षिण अमेरिकाको अमेजन नदीको सो माछा पूर्वी र दक्षिण एशियाली देशहरुमा केही वर्ष यतादेखि भित्रिएर व्याप्त भएको पाइएको हो ।‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम गरेकोे माछा नेपालमा पहिलो पटक मोरङ जिल्लाको बेलबारीमा चार वर्षअघि देखा परेको थियो। नयाँ प्रजातिको माछा भन्ने शंका लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरु जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनालहरुले यसलाई पहिल्याउन थालेका थिए। उनिहरुसँगै दुईजना चाइनिज अनुसन्धानकर्ताहरु जिन क्वान याङ र चेनहोङ लिको सहयोगमा अति मिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति हो भन्ने पुष्टि भएको हो। यो माछाको बासस्थान, शारीरिक र आनुवांशिक बनोट तथा आनीबानी अनि नेपालमा पहिलो पटक भेटिएको भन्ने कुरा पुष्टि गर्दै उनै अनुुसन्धानकर्ताहरुद्वारा लेखिएको एक लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ भन्ने विज्ञान पत्रिकाको हालैको अंकमा छापिएको छ। स्तरीय मानिएको क्यू टु उक्त विज्ञान पत्रिकामा उल्लेख भएअनुसार लोहन्द्रा नदीबाट यस माछाका ४३ वटा नमुना संकलन गरिएको थियो। पूर्वी नेपालका तमोरलगायत प्रायसः स्थायी नदीहरुको ५० स्थानमा अध्ययन गरिएकोमा लोहन्द्राका दुई स्थानमा यो प्रजाति र यही जातको अर्को प्रजाति भने झापाको दमकतिरका नदीहरुमा भेटिएको छ। हेर्दा आकर्षक लाग्ने, दुईसय देखि तीनसय ग्राम तौलसम्मका नमुनाहरु संकलित भएका थिए। अमेरिकाको माछा नेपाल कसरी आइपुग्यो भन्ने जिज्ञासामा अनुसन्धानकर्तामध्येका एक जसहाङ लिम्बूले भने – ‘यसमा हामीले दुई वटा बाटो अनुमान गरेका छौँ। कि चाहिँ कसैको एक्यारियमबाट फुत्केर प्राकृतिक नदी प्रणालीमा गयो कि भारतबाट नदीमा खेल्दै यता आयो।’ जताबाट आए पनि यो नेपाल भित्रिएपछि यहाँका रैथाने माछाहरुलाई हेप्ने, खानेकुरा खाइदिने, फुल र भुरा खाइदिने गरेको पाइएको लिम्बुको भनाई छ। जसका कारण हाम्रा स्थानीय माछाहरु नासिने सम्भावना हुन्छ। यसले धेरै देशहरुमा यस्तो विध्वंस मच्चाउँदै प्राकृतिक पारिस्थितिक प्रणालीलाई असन्तुलित पार्दै आएको छ। ‘यो पहिला लजालु हुन्छ, स्थिर बसिराख्छ तर मौका पर्दा रैथाने माछाहरुलाई आक्रमण गर्ने, टोक्ने र बच्चाहरुलाई त खाइदिने गर्छ।’ अनुसन्धानकर्ता लिम्बुले भने–मोरङको लोहन्द्रा खोलामा यो स्थापित भईसकेको छ।

अनुसन्धानकर्ताहरुको टोलिले सन् २०१९ देखि यसको खोजीमा लाग्दा थाहा भएको थियो की लोहन्द्रा नदीमा यो स्थापित भइसकेको छ, यसको संख्या निरन्तर बढिरहेको छ। अब अरु नदी तथा माछा पालन गरिएका पोखरीहरुमा विस्तार हुनसक्ने संभावना पनि उतिकै रहेको छ। ‘व्यवसायिक पोखरीमा पस्यो भने यसबाट ठूलो क्षति हुन्छ।’ यो अमेरिकन माछालाई खासमा एक्वारियममा राखी सुन्दरता हेरी आनन्द लिने हो तर खानमा यो अप्रिय प्रजाति हो। लिम्बूले भने –‘यो माछामा खास स्वाद नभएकोले मन पराएर मानिसले खाँदैनन् ।यो मिचाहा स्वभाव भएको गैरदेशीय प्रजातिलाई तत्कालै नियन्त्रण गर्नका लागि अनुसन्धानकर्ताहरुले सुझाव दिएका छन्। उनीहरुको लेखमा भनेका छन्–‘यसबारे थप अनुसन्धान गरी नियन्त्रण गर्न नीति निर्माण तह नै लाग्नुपर्ने हुन्छ।’ अनियन्त्रित भई गएमा माछा मारी जीवन चलाउनेहरुको जीवनयापन नै संकटमा पर्ने, देशले ठूलो आर्थिक क्षति बेहोर्नु पर्ने हुन्छ भने प्राकृतिक प्रणालीलाई नै चुनौती दिन्छ।

एक तथ्याङ्कअनुसार नेपालमा यो टेरिगोप्लिक्थिस डिसजन्किटिभससहित जम्मा दुई सय ६० प्रजातिका माछा पाइन्छन् जसमध्ये १८ प्रजाति गैह्रदेशीय छन् भने १७ प्रजाति चाहिँ नेपालबाहेक अन्त पाइदैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement