काठमांडू: विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक जुन तेस्रो साता काठमांडूमा हुने भएको छ। आगामी जुन १८ देखि २१ तारिखसम्म हुने आइडिए-२१ बैठकका लागि आयोजक समिति, व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ। “बैठक व्यवस्थापनका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख एवम् सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ”, अर्थमन्त्री पुनको सचिवालयले भनेको छ। बैठकको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने आयोजकले जनाएको छ। उद्घाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा बैठक सञ्चालन हुनेछ। समापनसत्रको प्रमुख अतिथि अर्थमन्त्री वर्षमान पुन रहने तय भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ पनि बैठकमा वक्ताका रूपमा सहभागी हुनेछ। विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडिए बैठकमा सहभागी हुन विश्व बैङ्कका अध्यक्ष अजय बङ्गा, बैङ्कको दोस्रो वरियताका विकास नीति र साझेदारी विभागका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोट्सनवर्गलगायत उच्चपदस्थ अधिकारीहरू नेपाल आउने जनाइएको छ।सहसचिव नेपालका अनुसार विश्व बैङ्कका दाता करिब ६० र साझेदार ९० भन्दा बढी देशका तीन सय बढी प्रतिनिधि बैठकमा सहभागी हुने छन्। सन् १९६० मा स्थापना भएको आइडिए विश्व बैङ्कको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका देशका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो। आइडिएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दाबढी देशमा सहायता उपलब्ध गराउँदै आएको छ। आइडिएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ।यस पटकको बैठकका प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ। सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छानिनु खुसीको कुरा रहेको बताए । उनले साझेदारसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरूका सकारात्मक पक्ष र चुनौतीबारे विश्वसमुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।कार्यक्रमबाट नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने विश्वास आयोजकको छ। बैठकमा आगामी तीन वर्षमा आइडिएले गर्ने प्रमुख कामका साथै आर्थिक विकासमा उत्पन्न स्रोतको सीमालगायत विषयमा छलफल हुनेछन्। बैठकपछि अध्यक्ष बङ्गासहित उच्च अधिकारीहरू काठमांडू भ्याली आसपासमा रहेका विश्व बैङ्कसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत निरीक्षणमा जाने कार्यसूची रहेको जनाइएको छ।गत मार्चमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन काठमांडू आएका विश्व बैङ्कका दक्षिण एसिया उपाध्यक्ष मार्टिन रेजरसँगको भेटमा अर्थमन्त्री पुनले बैठकको तयारीबारे छलफल गरेका थिए। त्यसअघि मन्त्री पुनले विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन मार्च पहिलो साता अमेरिका गएकाबेला वासिङ्टन डिसीस्थित विश्व बैङ्क मुख्यालयमा भएको भेटमा बैङ्कका उपाध्यक्षद्वय अकिहिको निसियो र ग्वाङ्जे चेनसँगको भेटमा पनि आइडिए बैठकबारे कुराकानी गरेका थिए ।आइडिएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो। सो बैठकमार्फत विकास साझेदारको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशलाई कोभिड-१९ महामारीको सामना गर्न र हरियाली प्रवर्द्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग गर्ने घोषणा गरेको थियो। विश्वबैंकले सङ्खुवासभामा निर्माण हुने एक हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत आयोजना र छ सय ३५ मेगावाटको दुधकोसी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ।