मिरीकले ८ वर्षको लामो प्रतीक्षा पछि अत्याधुनिक बहुउद्देश्यीय रंगशाला भवन भित्र पाइला टेक्न सक्यो
मिरीक: २०१४ मा शिलान्यास गरिएको रंगशाला भवनकाे आज जी टी ए प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट उदघाटन गरियो।
उदघाटन समय अनित थापाले भने, “मिरीकवासीको निम्ति गौरवको दिन हो। मिरिकको सबै ब्लकले हाम्रो सोचलाई जिताउनु भयो। जीतको उपहार स्वरुप आज यो बहु उद्देशिय रङ्गशाला दिनु सकेको छु। म मनोनित भएको समय मैले केही रकम छुट्याएर यो भवनको निर्माण भएको हो।”
उनले मिरिकको गरिमालाई फर्काएर ल्याउनुपर्छ, मिरीकलाई अझ अघि बढाएर लानु पर्छ भन्दै भने, “२०१७ को मिरिक अनि आजको मिरिकमा धेरै फरक छ। आज खुल्ला भएर सास फेर्नु सक्नु हुन्छ। हामीले दुःख गरेर यो वातावरण बनाएका हौं। यसलाई अब बचाएर राख्नु सक्नु पर्छ। स्वास्थ्य , शान्त अनि समृद्ध पहाड बनाउनु पर्छ भनेर हामी निस्केका थियौं।”

कमान वस्तीले बीजीपीएमको सोचलाई अंकमाल गरे ता पनि बजारले नगरेको उल्लेख गर्दै उनले भने, “अब मिरिक बजारको पालो। बजारले हाम्रो सोच अनि विचारलाई अंकमाल गरेका छैनन्। तर यो रंगशाला देखेर पनि मिरिक बजारले हाम्रो सोच अनि विचारलाई अंकमाल गरेर आगामी दिनमा हुने नगरपालिकाको चुनावमा हामीलाई जिताउनेछन् भन्ने आशा राखेको छु।”
अब पछि फर्केर होइन अघि हेरेर चल्ने सुझाव राख्दै उनले भने, “पहाडलाई भत्काउनु सजिलो छ तर पहाड बनाउनु पर्छ भनेर बुझाउनु धेरै गार्हो रहेछ। अझ सम्म पनि मैले बुझाइ सकेको छुईन। सकरात्मक ऊर्जा लिएर हामी हिड्नु पर्छ। कसैले केही गर्नु सक्दैन। तर हाम्रो कर्म ठीक हुनु पर्छ।
मिरिकलाई यो रंगशालाले थप उर्जा दिन्छ। हामी पछाडि हेरेर हिड्ने बानी त्यागौं। अघि हेर्दै हिडौं।
हिजो के भयो त्यो होइन, भोलि के गर्ने त्यो सोचौं।”
बहु उद्देशिय रंगशाला मिरिकवासीको निम्ति, यहाँका खेल प्रेमी, स्वस्थ्य प्रेमी, कला प्रेमी, साहित्य प्रेमी, नाट्य कला संग सम्बन्धित कलाकारहरुको निम्ति स्वतन्त्रता दिवसको बहुमूल्य उपहार हो।

रंगशालाको निर्माण ईलु ग्राउण्डमा भएको छ। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन सूचना अनि सांस्कृतिक विभाग द्वारा मिरिक अभियान्त्रिक विभागको प्राविधिक सहयोगमा रंगशाला भवनको निर्माण गरिएको हो।
रंगशाला केवल खेलकुदको निम्ति नभएर सांस्कृतिक, सांगीतिक साथै बौद्धिक कार्यक्रमको निम्ति पनि प्रयोग गर्न सकिन्छ। यहाँ ४५० जना अटाउन सकिने ठूलो अडिटोरियम बनिएको छ। यस अडिटोरियमको नाम गोपाल योञ्जन मञ्च राखियो।











