नयाँ दिल्ली: दिग्गज सुनिल छेत्रीको अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासपछि सीनियर गोलकीपर गुरप्रीत सिंह सन्धूलाई भारतीय फूटबल टीमको कप्तान नियुक्त गरियो। फिफा वर्ल्ड कप क्वालीफायर अन्तर्गत भारतले ११ जूनमा कतरको चुनौती स्वीकार्नेछ। ग्रुपको शीर्ष स्थानमा रहने कतर अगावै तेस्रो चरणमा पुगिसकेको छ। यसरी भारतले तेस्रो चरणमा पुग्नको निम्ति कतरलाई पराजित गर्नु पर्नेछ, जुन फलामको चिउरा चबाउनु बराबर साबित हुनेछ। भारतीय टीमका मुख्य प्रशिक्षक इगोर स्टीमाकले बताएअनुसार, टीमको नयाँ कप्तान चयन गर्न उनले अधिक सोच्नु परेन। छेत्रीपछि गुरप्रीत सबैभन्दा अनुभवी फूटबलर हुन् अनि उनले राष्ट्रिय टीमबाट ७१ वटा म्याच खेलिसकेका छन्। कतर विरुद्ध म्याचको निम्ति स्टीमाकले अगावै २३ सदस्यीय टीमको घोषणा गरिसकेका छन्। भारतको निम्ति आउँदो म्याच डू अर डाई जस्तो हुनेछ। कतर विरुद्ध पराजित हुनुको अर्थ नै क्वालीफायरबाट बाहिर हुनु हो। यस्तो भए भारतले एशियाई च्याम्पियनशीपको निम्ति क्वालीफाई गर्न फेरि संघर्ष गर्नु पर्नेछ।