दक्षिण सिक्किमको याङ्गाङमा भीषण भल पैह्रो, तीनको गयो ज्यान

IMG-20240610-WA0269.jpg

नाम्ची: रातभरि परेको मुसलधारे वर्षाको कारण आज बिहानी पख दक्षिण सिक्किमको नाम्ची जिल्लाअन्तर्गत राङ्गाङ याङ्गाङ समष्टिको अप्पर याङ्गाङ, निया, खादी आदि क्षेत्रमा भीषण भलपैह्रो जाँदा तीनजनाको ज्यान गएको छ भने एकजना गर्भवती महिला गम्भीर घाइते भएकी छन्। यसरी नै भल पैह्रोले सातवटा घरलाई पूर्णरूपले अनि अन्य घरहरूलाई आंक्षिक रुपमा क्षति पुऱ्याएको छ। सम्भावित खतरालाई ध्यानमा राखेर क्षेत्रका २० वटा परिवारलाई स्थानीय हेलीपेडमा निर्माण गरिएको रिलिफ क्याम्पमा सारिएको नाम्ची जिल्लाकी जिल्लापाल श्रीमती अन्नपूर्ण आलेले जानकारी गराएकी छन्।

प्राप्त जानकारीअनुसार क्षेत्रमा रातभरि हात्तिसुढ़े पानी परेको थियो। अत्याधिक वर्षाले बाड़को स्थिति सिर्जना गरेको थियो। भल पैह्रोले क्षेत्रका नक्सा नै बिगारेको छ। बिहान हुँदा स्थानीय गाउँलेहरू प्रकृतिको रौद्र रुप देखेर आतङ्कित बनेका थिए। घट्नाको सूचना पाउनसाथ स्थायीन पुलिस विभाग, पञ्चायत र एसडीआरएफ-का जवानहरू उद्धार र राहत कार्यमा जुटेका थिए। उद्धारकर्मीले तीनवटा शव भल पैह्रो खनेर निकालेका थिए। मृतकहरूलाई विशाल राई, भीम बहादुर लिम्बू र मनिता राईको रुपमा चिन्हित गरिएको छ।

पछि जिल्लापाल श्रीमती अन्नपुर्ण आले पनि अन्य सम्बन्धित अधिकारीहरूको साथमा घट्नास्थलमा पुगेकी थिइन्। उनले जानकारी गराएअनुसार घाइते महिलालाई गहन उपचारको निम्ति गान्तोक रेफर गरिएको छ।

About Author

Advertisement