गान्तोक: एसकेएम पार्टीका अध्यक्ष एवम मुख्यमन्त्री प्रेम सिंह तामाङले आज दोस्रो पल्ट मुख्यमन्त्री पदको निम्ति शपथ ग्रहण गरे। राजधानीस्थित पाल्जर स्टेडियममा आयोजित एक भव्य कार्यक्रमबीच मुख्यमन्त्री तामाङ लगायत अन्यहरूले शपथ ग्रहण गरेका हुन्। यस अवसरमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मुख्यमन्त्री प्रेम सिंह तामाङलाई मुख्यमन्त्रीको पदको निम्ति शपथ ग्रहण गराए भने सोही प्रकारले अरूण उप्रेती, जीटी ढुङ्गेल, सोनम लामा, साम्दुप लेप्चा, भीम हाङ सुब्बा, भोज राज राई, पुरण गुरूङ, पिन्छो नामग्याल लेप्चा, एनबी दाहाल, राजु बस्नेत र टीटी भोटियाले शपथ ग्रहण गरेका छन्। उल्लेखनीय छ, वर्ष २०१९मा मन्त्री बनेका सञ्जीत खेरल, लोकनाथ नेपाल, एमएन शेर्पा,बीएस पन्त र एलबी दासलाई भने यसपाली मन्त्री पद दिइएको छैन्। यस वर्षको चुनाउमा विजयी हुने केही नयाँ उम्मेदवार जस्तै राजु बस्नेत, एनबी दाहाल, पिन्छो नाम्ग्याल लेप्चा, भोजराई राई, पुरण गुरूङ र छिरिङ थेन्डुप भोटियालाई मन्त्री पदको निम्ति शपथ ग्रहण गराइयो। आगामी केही दिनमा सिक्किम विधानसभाका अध्यक्ष र उपाध्यक्षको निम्ति शपथ ग्रहण गराइने कार्यक्रम रहेको छ भने अहिलेसम्म विधानसभाको निम्ति अध्यक्ष र उपाध्यक्ष छनौट गरिएको छैन्।
नयाँ मन्त्री हुनेहरूमा जस्तै राजु बस्नेत नाम्चेबुङ निर्वाचन क्षेत्रबाट पूर्व मुख्यमन्त्री पवन चामलिङ पराजित गरेका थिए। सोही प्रकारले सोनम लामाले भाजपाका उम्मेदवार छितेन टासी भोटियालाई पराजित गरेका थिए भने साम्दुप लेप्लाले एसडीएफ पार्टीका उम्मेदवार हिस्से लाचुङपालाई लाचेन मंगन निर्वाच क्षेत्रबाट पराजित गरेका हुन्। सोही प्रकारले पुरण गुरूङले छुजाचेनबाट भारीमतले विजयी हासिल गरेका थिए भने एनबी दाहाल एसडीएफ पार्टीका उम्मेदवार एमके शर्मालाई पराजित गर्न सफल रहेका थिए। यसरी नै अन्य उम्मेदवारहरूले पनि विभिन्न पार्टीका प्रतिदवन्दिहरूलाई सहजै पराजित गरेका थिए।










