इम्फाल: मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहको सुरक्षा लश्करमा उग्रवादीहरूले आक्रमण गरेका छन्। आज सोमबार भएको उक्त हमलामा एक सैनिक घाइते भएका छन्। काङपोकपी जिल्लामा उग्रवादीहरूले मुख्यमन्त्रीको सुरक्षा गाडीलाई हिंसाग्रस्त जिरिबाम जिल्लातर्फ जाने क्रममा आक्रमण गरेका थिए। सुरक्षा बलको गाडीमा कैयौं गोली चलेको पुलिसले जनाएको छ, जसको जवाफमा सुरक्षा बलले पनि जवाफी कारबाही गरेको छ। पुलिसका अनुसार राष्ट्रिय राजमार्ग–५३ नजिकैको कोटलाने गाउँ नजिक अहिले पनि गोली चलिरहेको छ। आक्रमणका क्रममा गोली लागेर कम्तीमा एक सैनिक घाइते भएको पुलिसले जनाएको छ। एक अधिकारीले भने, ‘मुख्यमन्त्री बिरेन सिंह अझै दिल्लीबाट इम्फाल पुगेका छैनन्। शनिबार जिरिबाममा रहेको दुई पुलिस चौकी, एक वन विभागको कार्यालय र कम्तीमा ७० घरमा आगजनी गरेको शंकास्पद आतंककारीले जिरिबाम जाने योजना बनाएका थिए।
गत वर्ष लगातार हिंसाको आगोमा जलिरहेको मणिपुर फेरि एकपटक त्यसको चपेटामा परेको छ। महत्वपूर्ण कुरा के हो भने अहिलेसम्म सुरक्षित रहेको जिरिवाम जिल्लामा अहिले हिंसा शुरु भएको छ। शुक्रबार–शनिबारको मध्यरातमा ३–४ वटा डुंगामा लडाकूहरु आएका थिए र धेरै घर र पुलिस चौकीमा आगजनी गरेका थिए। यसपछि फेरि पुलिसमाथि हमला भएको छ। मणिपुरको जिरिबाम जिल्लामा आतङ्ककारीहरूले एक व्यक्तिको हत्या गरेको बताइएको छ। यही कारणले राज्यमा फेरि हिंसा भड्किएको छ। मेइती समुदायका २०० भन्दा बढी मानिसलाई नयाँ राहत शिविरमा पठाइएको छ। जिरिबम जिल्लाको बाहिरी भागमा रहेको लामताई खुनौ, दिबोङ खुनौ, नुनखाल र बेगरा गाउँमा संदिग्ध उग्रवादीहरूले धेरै घर जलाएर नष्ट गरेका थिए। जिरी खेलकुद परिसरमा राखिएको राहत शिविरमा यी गाउँका बासिन्दा बस्दै आएका थिए।











