काठमांडू: काठमांडू स्थित नेपालको निर्वाचन कार्यको व्यवस्थापन तथा राजनीतिक दलको अभिलेख राख्ने निकाय निर्वाचन आयोगको बहादुर भवनस्थित कार्यालय चीनले पुनःनिर्माण गरिदिने भएको छ। गत शुक्रबार जुन ७मा दिउँसो काठमाडौँस्थित चिनियाँ दूतावासका डिसिएम वाङ सिन आयोगमा पुग्दा उनले जमलस्थित दरबार हाइस्कूलको पुनःनिर्माण (रेट्रो फिटिङ) गरिदिएजस्तै बहादुर भवन पनि बनाइदिने मनशाय व्यक्त गरेका थिए। सय वर्षभन्दा पुरानो बहादुर भवन राणा प्रधानमन्त्री वीरसमशेरले निजी आवासका रूपमा बनाएका थिए। पछि साहिँला छोरा रुद्रसमशेरलाई दिए। १९९० मा तत्कालीन प्रधानमन्त्री जुद्धसमशेरले सी क्लासका राणालाई चार भञ्ज्याङ कटाउने क्रममा रुद्रसमशेर पाल्पा पठाइए। खालि भएको भवनमा जुद्धका माइला छोरा बहादुरसमशेर बस्न थाले, त्यसपछि बहादुर भवन नामाकरण भएको हो। २००७ सालमा राणा शासनको अन्त्य भएपछि तत्कालीन अधिराजकुमार बसुन्धरा शाहले रुसी नागरिक बोरिस लिसानेभिचसँग मिलेर त्यहाँ ‘होटल रोयल’ चलाएका थिए। व्यापारमा घाटा भएपछि बसुन्धराले नेपाल सरकारलाई भवनसहितको जमिन बिक्री गरे। त्यहाँ लामो समय राजसभा स्थायी समितिको कार्यालय राखिएको थियो। पछि निर्वाचन आयोग त्यहीँ सारियो। २०१५ को भूकम्पमा सामान्य क्षति भई पहेँलो स्टिकर टाँसिएको सो भवनको बल्ल रेट्रो फिडिङ गर्न लागिएको हो। निर्वाचन आयोगले त्यसका लागि करिव एक अर्ब खर्च लाग्ने अनुमान गरेको छ। त्यस्तै, निर्वाचन आयोगका पदाधिकारीलाई डिसिएम वाङले चीन भ्रमणको निम्तो पनि दिएका छन्। चिनियाँ जनकंग्रेसको आतिथ्यतामा उनिहरू अर्को महिना चीन जाने संभावना छ। आयोगले चीनसँग आफ्ना प्राविधिकलाई सूचना प्रविधिसम्बन्धी अत्याधुनिक तालिम दिनुपर्ने प्रस्ताव राख्दै छ। त्यस्तै, करिव १५ वटा विद्युतीय गाडी पनि माग गर्न लागेको बुझिएको छ।गतहप्ता मात्रै चीन सरकारको सहयोगमा सिन्धुपाल्चोकस्थित चौतारा अस्पतालको पुननिर्माण सम्पन्न र हस्तान्तरण भएको छ। ३९ शैयाको सो अस्पताल ६ करोड १० लाख चिनियाँ युआनको लागतमा बनेको हो।









