गोर्खा जनपुस्ताकालय खरसाङको वार्षिक साधारण सभा

IMG-20240609-WA0237.jpg

१७ जना नयाँ कार्यकारिणी समितिको सदस्यहरू निर्वाचित

खरसाङ: भारतीय गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय खरसाङको वार्षिक साधारण सभा साथै नयाँ कार्यकारिणी समिति गठन गरिएको छ। उक्त वार्षिक साधारण सभा पुस्तकालयको अध्यक्ष पूर्ण गुरुङ निरुपमको अध्यक्षतामा र सचिव विनोद रसाइलीको सञ्चालनमा सम्पन्न भएको छ। सभामा गोर्खा जनपुस्ताकालय खरसाङको संस्थापक सदस्यहरू साथै दिवंगत भएका सदस्यहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको छ भने माता सरस्वतीको तस्वीरमा धुप दिप प्रज्वलन गरी वार्षिक साधारण सभालाई शुरु गरियो। वार्षिक साधारण सभामा मूल सचिव विनोद रसाइलीले वर्ष २०१९-२०२४ को सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसरी नै पुस्तकालयको कोषाध्यक्ष निरङ्कर थापाले पुस्तकालयको आय व्ययको हर हिसाब सुनाएका थिए। सभामा पुस्तकालयको आजीवन सदस्यहरू ब्रिगेन गुरुङ, आशा मुखिया लामा, सजित खाईबा आदिले सल्लाह सुझावको साथमा वक्तव्य राखेका थिए। सभामा सभाध्यक्ष पूर्ण गुरुङ निरुपमले अध्यक्षीय सम्बोधनमा पुस्तकालयको पाँच वर्षको क्रियाकलापहरू र कार्यक्रमहरू विषयमा विस्तृत रुपमा जानकारी गराएका छन्। उनले गोर्खा जनपुस्ताकालय खरसाङको पुरानो कार्यकारी समितिले गरेको कामहरू विषयमा जानकारी गराएका छन्। उनले पुस्तकालयको संस्थापक जोम्बे पावल विषयमा जानकारी गराउँदै जोम्बे पावलको सालिग निर्माण गरिनु पर्ने सुझाव दिएका छन्। सभाध्यक्ष पूर्ण गुरुङ निरुपमले पुरानो कार्यकारी समिति विघटन गरिएको घोषणा गरेका थिए। सभाको उत्तरार्ध्दमा चुनाव अधिकारी अधिवक्ता मनिकचन्द्र प्रधान र पूर्व प्रधान अध्यापक भीमबहादुर छेत्रीद्वारा गोर्खा जनपुस्ताकालय खरसाङको १७ जना नव निर्वाचित सदस्यहरूलाई खदार्पणसहित प्रमाण पत्र वितरण गरेर स्वागत जनाइयो। यस अवसरमा दुवै चुनाव अधिकारीलाई खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। उक्त वार्षिक साधारण सभामा नयाँ कार्यकारिणी समितिको गठन गर्नलाई पूर्व सचिव विनोद रसाइलीलाई संयोजक चयन गरिएको छ। उनको अगुवाईमा नै आगामी सात दिनभित्रमा नयाँ कार्यकारी समितिको गठन गरिने भएको छ। यसै सभामा नयाँ आन्तरिक लेखापालको रूपमा मणिकुमार थापालाई चयन गरिएको छ।

उक्त वार्षिक साधारण सभामा पुस्तकालयको संविधान संशोधनको कुराहरू पनि उठान गरियो भने कतिपय नियमहरू विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा पुस्तकालयको साधारण सदस्यहरू र आजीवन सदस्यहरू पनि उपस्थित रहेका थिए। यस वार्षिक साधारण सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा जनपुस्ताकालय खरसाङको पूर्व सचिव विनोद रसाइलीले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement