खरसाङ: शब्द समयले साविता गोम्देन साहित्य कक्षमा विशिष्ठ साहित्यकार ज्ञानबहादुर छेत्री र उनकी धर्मपत्नी मनमाया छेत्रीको सालबारी आगमनको सुअवसरमा एउटा सम्मान कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रमको अध्यक्षता वरिष्ठ कवि मोहन ठकुरीले गरेका थिए। प्रख्यात सिने-अभिनेता टंक शर्माको बाहुलीबाट ज्ञानबहादुर र उनकी धर्मपत्नीलाई खादा लगाएर सम्मान गरियो। सभाको उद्देश्य व्याख्या गरेपछि अतिथि ज्ञानबहादुर छेत्रीको सङ्क्षिप्त परिचय राखे सञ्चालक जीत सुनारले। छेत्रीले आफ्नो वक्तव्यमा उनी काठमाडौंदेखि असम फर्किंदा सालबारीका साहित्यकारहरुलाई भेट्ने उत्सुकता थाम्न नसकी यात्रा माझमै रोकेर सालबारी पस्ने निर्णय गरेको कुरो जनाए। उनले आफ्नो वक्तव्यमा सालबारीको साहित्यिक गतिविधि सक्रिय रहेको कुरो पनि जनाए। त्यसपछि रचनापाठको क्रम दुई चरणमा राखियो। पहिलो चरणमा टंक शर्मा, नीरा सुब्बा नेचाली, देविका मग्रांती र कविता भट्टराई अधिकारीले आआफ्नो कविता पाठ गरे। वरिष्ठ राजनीतिक चिन्तक डी एस बम्जनले प्रज्वल पराजुलीद्वारा लिखित अङ्ग्रेजी उपन्यास ‘ल्याण्ड वेयर आई फ्ली’को नेपाली अनुवाद ‘चित्रलेखाको चौरासी’ माथि आफ्नो सारगर्भित पाठकीय विचार राखे। रचना पाठको दोस्रो चरणमा कवि समीर शर्माले गजल, लीलबहादुर सुनारले मुक्तक, जीत सुनारले लघुकथा; ज्ञानेन्द्र खतिवडा, हेमन्त काफ्ले र पूर्ण मगरले कविता पाठ गरे। फेरि बबिता मादेनले अतिथि ज्ञानबहादुर छेत्रीबारे आफ्नो छोटो र अर्थपूर्ण वक्तव्य राखिन्। स्व. साविता गोम्देनका सुपुत्र अनन्त गोम्देन आद्यन्त उपस्थित रही कार्यक्रमको प्रत्येक गतिविधि उपभोग गरे। अध्यक्षको मन्तव्यमा कवि मोहन ठकुरीले अतिथि छेत्री दम्पत्तीलाई यसरी सालबारीमा भेट्नु एउटा सुखद अवसर हो भनी भने।
अन्त्यमा कवि ज्ञानेन्द्र खतिवडाले आफ्नो समापन वक्तव्यमा असमको नेपाली साहित्य स्तरोन्नतितिर अग्रसर भइरहेको र असम सरकारको साहित्य र साहित्यकारप्रतिको दृष्टिकोण सकारात्मक रहेको कुरो भन्दै शब्द समयको पक्षबाट सभासदलाई एकमुस्ट धन्यवाद टक्र्याए। यसरी ज्ञानबहादुर छेत्रीको सम्मानमा आयोजित साहित्यिक कार्यक्रम निकै सौहाद्यपूर्ण परिवेशमा सम्पन्न भयो।