काठमांडू: रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं. ६ निवासी ३१ वर्षीय टीका रावलको श्रीमानसँग यही मई ८मा सम्बन्ध विच्छेद भयो। उनीहरु तुलसीपुर ६ स्थित राप्ती टोलमा भाडामा बस्दै आएका थिए। सम्बन्ध विच्छेद भएपनि उनका श्रीमान सल्यान कपुरकोट गाउँपालिका वडा नं.६ निवासी नेपाली सेनाका अमलदार ३६ वर्षीय सालिकराम बुढाथोकीले आफ्ना सामान लिएका थिएनन्। केही समयमा त्यहाँबाट सामान लैजाने कुराकानी भएको थियो। यद्यपी टीकाले अर्कै केटासँग विहे गर्ने तयारी गरिसकेकी थिइन्। उनी अछाम कमल बजार नगरपालिका ४ घर भई हाल १९ नम्बर बाहिनी तुलसीपुर दाङमा कार्यरत २९ वर्षीय सैनिक जवान आर्यन थापासँग शुक्रबार बिहे गरेर जाने तयारीमा थिइन्। आर्यन पनि त्यसकै तयारीमा टीकाकै कोठामा गएका थिए। कोठामा टीका र आर्यन तरकारी काटिरहेका थिए। त्यतिबैलै सालिकराम आएर एक्कासी आर्यनलाई खुँडा प्रहार गरे। ‘हामी आजै बिहे गरेर कोहलपुर जाने र त्यहाँबाट गाडी चढेर अछाम जाने तयारी गरेका थियौं’, आर्यनले भने, ‘तर, एक्कासी उनी आएर खुँडा प्रहार गरे।’
आफूमाथि खुडा प्रहारपछि आर्यन भागे। त्यसपछि टीकामाथि खुँडा प्रहार गर्न थाले। पहिलो पटक प्रहार भएको खुडा हातले छेक्न खोज्दा हात काटेको थियो। त्यसपछि घरको छतबाट छिमेकीको घरको छतमा गइन। त्यही पुगेर उनको घाँटी रेटेर हत्या गरे।