गोर्खा जनपुस्ताकालय खरसाङको ११२औं स्थापना दिवस कार्यक्रम सम्पन्न

IMG-20240608-WA0249.jpg

खरसाङ: भारतीय गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय खरसाङको ११२औं स्थापना दिवस सम्पन्न भएको छ। ८ जून १९१३ को दिन स्थापना भएको गोर्खा जनपुस्ताकालय खरसाङको छुट्टै गरिमा र प्रतिष्ठा रहेको छ। उक्त स्थापना दिवस गोर्खा जनपुस्ताकालय खरसाङको पारसमणि प्रधान प्रेक्षागृहमा पूर्ण गुरुङ निरुपमको अध्यक्षता र विनोद रसाईलीको सञ्चालनमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पूर्व सभापति एंव समाजसेवी तिलक शर्मा, पूर्व विधायक डा रोहित शर्मा, रबीनकुमार प्रधान, पूर्व सचिव एलडी मोक्तान, ब्रिगेन गुरुङ, बिनोदप्रकाश शर्मा, समाजसेवी टीटी लामा उपस्थित रहेका थिए। कार्यक्रममा पुस्तकालयको आजीवन सदस्यहरू साथै साधारण सदस्यहरू पनि उपस्थित रहेका थिए। कार्यक्रममा वक्तव्यको क्रममा तिलक शर्मा, रबीनकुमार प्रधान, ब्रिगेन गुरुङ, विनोदप्रकाश शर्मा आदिले गोर्खा जनपुस्ताकालय विषयमा कुराहरू राखेका थिए। वक्ताहरूले गोर्खा जनपुस्ताकालय खरसाङको गरिमा र प्रतिष्ठालाई ध्यानमा राखेर सबैलाई पुस्तकालयको कार्यक्रममा उपस्थित भईदिने अनुरोध पनि गरेका छन्। वक्ताहरूले पुस्तकालयको आवश्यकताहरू र पुस्तकालयको भावी कार्यक्रमहरू विषयमा चर्चा परिचर्चा गरेका थिए। कार्यक्रममा गोर्खा जनपुस्ताकालय खरसाङको पूर्व दिवंगत सदस्यहरूलाई सम्मानसहित कृतज्ञता र श्रध्दाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा सभाध्यक्ष पूर्ण गुरुङ निरुपमले गोर्खा जनपुस्ताकालय खरसाङको स्थापना साथै शुरुमा जम्बे पावलको घरको कोठामा पुस्तकालय शुरु भएको र जम्बे पावल विषयमा सबैले जानकारी लिनु पर्ने र उनी समाजसेवी एंव स्वतन्त्रता सेनानी रहेको पनि जानकारी गराएका छन्। गोर्खा पुस्तकालय खरसाङको संस्थापक आठजना सदस्यहरूलाई वार्षिक रूपमा सम्मानसहित श्रध्दाञ्जली अर्पण गरिने गरिएको र यसपाली पनि सम्मानसहित श्रध्दाञ्जली अर्पण गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement