खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खरसाङ क्षेत्रका आठजना वरिष्ठ पार्टी पदाधिकारीहरूले आज खरसाङमा एक सभा गरेर सामुहिक रूपमा राजीनामा दिएका छन्। खरसाङमा सभा गरेर मुख्य रूपमा गोरामुमो केन्द्रीय उपाध्यक्ष पीसी अग्रवाल, केन्द्रीय सदस्य एंव पूर्व पार्षद आईएन प्रधान, केन्द्रीय सदस्य किशोर गहतराज, एचपीडब्ल्युयुको केन्द्रीय समिति सदस्य एके देवान, पंखाबारी गिध्द पहाड़ समष्टिको सभापति नरेश गुरुङ, पूर्व सचिव बीएम तामाङ, घैयाबारी शाखाको सभापति रमेश राई, घैयाबारी शाखाको उप सभापति जयराज थापा आदिले गोरामुमो पार्टीबाट राजीनामा दिएका छन्। खरसाङमा सभा आयोजना गरेर आठजनाले नै गोरामुमो पार्टीबाट राजीनामा दिएको र राजीनामा पत्र गोरामुमो केन्द्रीय अध्यक्ष मन घिसिङलाई पठाउने जानकारी गराएका छन्। खरसाङमा भएको सभापछि पत्रकारहरूसित कुराकानी गर्दै गोरामुमो केन्द्रीय उपाध्यक्ष पीसी अग्रवाल, पूर्व पार्षद आईएन प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन् । उनीहरूले सभामा वर्तमान गोरामुमो पार्टीको स्थिति विषयमा चर्चा परिचर्चा गरिएको बताउँदै पार्टी अध्यक्ष सुवास घिसिङको निधनपछि सबैजना पछाड़ी पर्दै गएको र कतिवटा सभाहरू गरेर गरिएको निर्णयहरू विषयमा पार्टी अध्यक्ष समक्ष पठाउँदा पनि कुनै मूल्यांकन नभएको बताएका छन्। उनीहरूले गोरामुमो पार्टीमा आफुहरू हतभन्दा तल राखिएको बताउँदै राजीनामा दिएको बताएका छन्।









