सालबारी: ‘हाम्रो किताब घर’- मार्फत् वर्षेनी प्रदान गरिँदै आएको शशिप्रभा स्मृति पुरस्कार यस वर्ष पनि प्रदान गरिने भएको छ। उक्त जानकारी आज सालबारीमा एक पत्रकार सम्मेलनको आयोजन गरेर हाम्रो किताब घरका छेवाङ योञ्जन तथा पुरस्कार प्रायोजक बिजय बान्तवा कैलाशीले दिएका छन्। आख्यानकार विजय बान्तावा ‘कैलासी’-ले आफ्नी दिवङ्गत धर्मपत्नी शशिप्रभा बान्तावाको स्मरणमा प्रायोजना गरिरहेको उक्त पुरस्कारमा नगद पचास हजार रूपियाँसहित प्रशस्ति पत्र प्रदान गरिँदै आएको छ। यस वर्षको पुरस्कारको निम्ति २०२२ सालदेखि यता सर्व भारतीय रुपमा छापामा आएका नेपाली किताबका लेखकहरुले दाबी गर्न सक्ने छन्। शशीप्रभा पुरस्कारले तेस्रो वर्ष टेकिरहेको छ भने पुरस्कार राशी गए वर्ष झैं पचास हजार रहने पनि बताइएको छ। इच्छुक लेखकले आफ्नो कृति हाम्रो किताब घरको आधिकारिक ठेगानामा १५ जुलाईसम्म पठाउन सक्ने छन्। हाम्रो किताब घरको पक्षबाट पत्रकारहरुलाई सम्बोधन गर्दै छेवङ योञ्जनले पुरस्कार निष्पक्ष रुपमा प्रदान गरिने भएको कारण शशिप्रभा पुरस्कारको गरिमा बढ्दै गएको बताएका छन। उनीले पुरस्कार बिजेताको चयनमा कुनै पक्षपात नहोस अनि पुरस्कार सही किताबले पाउनु पर्ने कुरामा खास ख्याल राखिने बताए। कुनै पनि साहित्यको संरक्षण र विकासमा साहित्यिक पुरस्कारले महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वस्त बन्दै योञ्जनले नेपाली साहित्यमा पनि पारदर्शितापूर्वक पुरस्कार दिइए पुरस्कृत पुस्तकले पठन संस्कृति विकासमा टेवा पुऱ्याउन सक्ने मत प्रकट गरे। फलस्वरूप तेस्रो शशिप्रभा स्मृति पुरस्कारका निम्ति हामी यसचोटि पनि लेखक तथा प्रकाशकहरूलाई नेपाली पुस्तकको आह्वान गरिरहेका छौँ, योञ्जनले थपे। अर्कोतिर पुरस्कार प्रायोजक तथा साहित्यकार बिजय बान्तवा कैलाशीले सबै साहित्यकारहरुलाई आफ्नो कृति पठाई दिने अनुग्रह गरेका छन। उनीले पुरस्कारको निम्ति छनौट भएका किताबहरुको चयन प्रक्रियाबारे जानकारी गराउँदै दुइ चरणमा किताब छनौट हुने जस अन्तर्गत पहिलो चरणमा शिर्ष दशमा परेका किताबहरु सार्वजनिक गरिने यसरी नै दोस्रो चरणमा शिर्ष दशबाट एउटा सर्वउत्कृष्ट किताबलाई पुरस्कृत गरिने बताए। यसरी नै ज्ञानकुञ्जका प्रकाशक तथा कथाकार सन्जिब छेत्रीले पनि सर्जकहरुको निम्ति शशिप्रभा पुरस्कार गरिमामय रहेको भन्दै सबै सर्जकहरुलाई किताब पठाउने अनुरोध गरेका छन। स्मरण गराइन्छ पहिलोपल्ट २०२२ मा पहिलो शशिप्रभा स्मृति पुरस्कार संध्या छेत्रीलाई उनीको उत्कृष्ट कथा संग्रह पराकम्पनको लागि दिइएको थियो भने गत सालको पुरस्कार बिमल लामा अनि समिक चक्रवर्तीलाई नुनको चिया किताबको निम्ति दिइएको थियो।









