मिरिक: गोपाल योञ्जन प्रतिष्ठान मिरिकको अध्यक्ष सुकबहादुर गजमेरको अध्यक्षतामा सम्पन्न सभामा छलफलहरु अनुसार यस वर्ष २६ अगस्त २०२४ को दिन गोपाल योञ्जन प्रेक्षागृह मिरिकमा वाग्येकार गोपाल योञ्जनको जन्मोत्सव भव्य रुपमा पालन गर्ने तय गरिएको छ। यस अवसरमा वाग्येकार गोपाल योञ्जनका कालजयी गीत, संगीतलाई नयाँ पुस्तामा हस्तान्तरण र प्रचलन गराउने उद्देश्यले मिरिक महकुमा क्षेत्रका विभिन्न सरकारी गैर सरकारी उच्च/उच्चतर विद्यालय साथै माध्यमिक शिक्षा केन्द्रका विद्यार्थीहरुलाई सहभागी गराई वाग्येकार गोपाल योञ्जनद्वारा स्वरवद्ध वा संगीतबद्ध गीतहरुमाथि गायन प्रतियोगिता आयोजन गर्ने छलफल गरियो। शीघ्र नै आवश्यक नियमावली, पञ्जीकरण फारम विद्यालयहरुलाई गोपाल योञ्जन प्रतिष्ठानको पक्षमा संयोजक कैलाश राई, मिलन राईले उपलब्ध गराउने छन्। पञ्जीकरणको निम्ति शुल्क प्रत्येक प्रतियोगिटीले रु. ५००/- (पाँच सय) अनलाइन जीपे(GPay) मार्फत भुक्तान गर्नु पर्नेछ। पञ्जीकरणको अन्तिम मिति ३० जून २०२४ निश्चित गरिएको छ। ईच्छुक विद्यालयहरुले आवश्यक जानकारी को निम्ति संयोजक कैलाश राई अनि सचिव केसाङ लामामा सम्पर्क गर्न सकिनेछ। अन्तिम चरणका प्रथम, दोस्रो र तेस्रो विजेतालाई आकर्षक नगद पुरस्कारसहित गोपाल सम्मान ट्रफीद्वारा सम्मानित गरिनेछ। सभाले कार्यक्रम सल्लाहकारको पदमा डीके गिरी अनि अरुण चन्द्र कुलुङलाई चयन गरेको छ।

यसै गरी गोपाल जन्मोत्सव औ गायन प्रतियोगिताको अवसरमा मिरिक क्षेत्रका हाल काठमाण्डूमा रहेका दुई स्रष्टाहरु आनन्द राई अनि विष्णु अधिकारी साथै हाल गान्तोकमा रहेका वरिष्ठ गायिका बिमला प्रधानलाई निम्ताएर नागरिक अभिनन्दन जनाउने पनि छलफल गरियो। सभामा प्रतिष्ठानका सदस्य हरुले सदस्यता नवीनीकरण आगमी जुलाईभित्र गर्नपर्ने, यसको निम्ति साधरण सदस्य और आजीवन सदस्य हरुले रु ५००/- सहयोग राशी प्रदान गर्ने तय गरियो।
अन्यथा सबैलाई धन्यवाद दिएर सभाध्यक्ष सुकबहादुर गजमेरद्वारा सभा समापनको घोषणा गरियो।








