विराटनगर: मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि एउटा समूहले दुर्व्यवहार गरेको छ। नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गरिएको मोरङ पुलिसका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार ६ जनाको समूहले कार्यकक्षभित्रै प्रवेश गरेर आचार्य र न्यौपानेलाई दुरव्र्यवहार एवं हातपात गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सो समूहको आक्रमणमा परेर ४ जना नगर पुलिस समेत सामान्य घाइते भएका छन्। घटनाको जानकारी पाउनसाथ खटिएको इलाका पुलिस कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले दुर्व्यवहार एवं आक्रमणमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन्। पक्राउ परेकाविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने पुलिसको तयारी छ।








