गान्तोक: सिङताम नगर पञ्चायत भवनमा आज विश्व खाद्य सुरक्षा दिवस पालन गरियो। खाद्य एवम औषधि प्रशासन, स्वास्थ् साथै परिवार कल्याण विभाग सिक्किम सरकारको पहलमा आज उक्त कार्यक्रम पालन गरियो। यस वर्षको थिम ‘खाद्य सुरक्षा: अप्रत्याशितको लागि तयारी’ थियो। उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपमा गान्तोक नगर निगमकी उपमेयर छिरिङ पाल्देन भोटिया लगायत विभिन्न नगर पञ्चायतका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि उप मेयर छिरिङ पाल्देन भोटियाले मानिसको दैनिक जीवनमा सरसफाइ र खाद्य सुरक्षाको महत्त्वमा जोड दिइन्। यसका साथै उनले सर्वसाधारणका लागि सुरक्षित, स्वास्थ र दिगो खाद्यान्न सुनिश्चित गर्न सम्बन्धित विभागले गरेको प्रयासको पनि प्रशंसा गरिन्। यसै क्रममा विभागक सचिव डा. एबी कार्कीले राज्यको खाद्य सुरक्षा इकोसिस्टमको सुरक्षामा सक्रिय रूपमा सहभागी हुन सबैलाई आग्रह गरे। उनले एफबीओ अधिकारीहरूलाई खाद्य सुरक्षा सम्बन्धी जारी गरिएको दिशानिर्देशहरूको साथ कडाईका साथ पालना गर्नपर्ने र यदि यसलाई सही ढङ्गमा कार्यान्वयन नगरेको खण्डमा खाद्य सुरक्षा र मानक ऐन, २००६ बमोजिम कारबाही गरिने जनकारी गराए।








