पक्राउ परेका विद्यार्थीलाई छाड्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन

IMG-20240607-WA0269.jpg

विराटनगर: मोरङको रंगेली नगरपालिकाका कार्यबाहक मेयर, प्रमुख प्रशासकीय अधिकृत एवं नगर पुलिस माथि दुर्व्यवहार र आक्रमण गर्ने समूहको समर्थनमा विराटनगरमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले कोशी राजमार्गअन्तर्गत विराटनगरको रोडशेष चोकमा यातायात अवरुद्ध पारेर शुक्रबार जुन ७ दिउँसो प्रदर्शन सुरु गरेका हुन्। विद्यार्थीहरूले दुईतर्फी यातायात बन्द गर्दै सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन्। उनीहरूले मोरङको रंगेलीमा पक्राउ परेका विद्यार्थीलाई तत्काल छाड्नुपर्ने माग गर्दै नाराबाजी र प्रदर्शन गरिरहेका छन्। प्रदर्शनको नेतृत्व महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)का कार्यबाहक सभापति एवं नेपाल विद्यार्थी संघका सभापति प्रशान्त यादवले गरेका छन्। रंगेली नगरपालिकाका कार्यबाहक मेयर एवं रंगेली ८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि बिहीबारजुन ६मा एउटा समूहले दुर्व्यवहार एवं हातपात गरेको थियो। त्यही समूहको आक्रमणमा परेर ४ जना नगर प्रहरी सामान्य घाइते भएका छन्। नगर पुलिसहरू सुनिता पौडेल, प्रमोद पासवान, पदमबहादुर थापा र ज्योति घिमिरे घाइते भएका हुन्।पुलिसका अनुसार आक्रमणको नेतृत्व विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सदस्य एवं नेविसंघका सदस्य दीपक यादवले गरेका थिए। दुर्व्यवहार र आक्रमणमा संलग्न यादवसहित ६ जनालाई पुलिसले पक्राउ गरेर अभद्र व्यवहार मुद्दा चलाउन प्रक्रिया अगाडि बढाएको छ। रंगेली -६ का २३ वर्षीय यादवसहित २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली– ७ का १८ वर्षीय रमणकुमार राय, रंगेली -८ का १९ वर्षीय विषेक झा र रंगेली -२ का मिलन मिश्र पक्राउ परेका हुन्।उनीहरूलाई तत्काल छाड्नुपर्ने र मुद्दा चलाउन नपाइने माग राख्दै क्याम्पसका विद्यार्थी सडकमा ओर्लिएर सवारी आवागमन ठप्प पारेका हुन्। निजी विद्यालयहरूले आफूखुसी कानुनविपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भनी आफूलाई विद्यार्थी बताउने समूहले नगरपालिकाको कार्यालय र नगरपालिकाको शिक्षा शाखामा यही मई २६मा ज्ञापन पत्र बुझाएको थियो।तर, चित्तबुझ्दो जवाफ नआएको भन्दै रंगेली -७ स्थित नगरपालिकाको कार्यालयमा प्रवेश गरेर कार्यबाहक मेयर, प्रमुख प्रशासकीय अधिकृत एवं नगर पुलिसमाथि दुर्व्यवहार र आक्रमण गरिएको पुलिसको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement