बिराटनगर: भारत सरकारको सहयोगमा निर्माण सम्पन्न विद्यालय भवन उद्घाटन गरिएको छ। सुनसरीको इनरुवामा निर्माण सम्पन्न भवन औपचारिक कार्यक्रमका बिच उद्घाटन सँगै हस्तान्तरण समेत गरिएको छ। ३ करोड लागतमा निर्माण सम्पन्न विद्यालय भवनको जिल्ला समन्वय समिति सुनसरीको अगुवाईमा आयोजित औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो। नेपालकालागि भारतीय दुतावासका प्रथम सचिव सुमन शेखरको उपस्थितिमा सो भवन हस्तान्तरण गरिएको छ। दुतावासका सचिव सुमन शेखर र जिसस सुनसरी सभापति राजन मेहताले भगवती मा.बि.को भवन सम्बन्धित विद्यालयका प्रअलाई हस्तान्तरण गरेका हुन। सो कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय दुतावासका प्रथम सचिव शेखरले शिक्षाको क्षेत्रमा मात्र नभई नेपाल र नेपालीकालागि भारत सरकारले थुप्रै योजनामा सहयोग गर्दै आएको बताए। उनले थप सहयोगको पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।कार्यक्रममा जिसस सुनसरी सभापति राजन मेहताले नेपाल र भारत बिचको सुमधुर सम्बन्धलाई दुई देशीय सहयोगले थप प्रगाढ बनाएको धारणा राखे। मेहताले समन्वय प्रमुखका हिसाबले समग्र जिल्लाको बिकासमा दुतावासको सहयोग जुटाउन आफु हरसम्भव प्रयासरत रहेको बताए। उनले भारतीय दुतावासबाट सुनसरीको हकमा छिट्टै अन्य सहयोग प्याकेजहरु आउनेमा समेत आफु विश्वस्त रहेको बताए।इनरुवा र रामधुनीमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न दुवै विद्यालय भवन आधुनिक शैलीका रहेका छन। सो विद्यालय भवन निर्माणमा समान ३ करोड खर्च भएको उद्घाटन कार्यक्रममा सहभागी दुतावासका कर्मचारीले बताएका छन। इनरुवाका विद्यालय भवनको निर्माण भने निकै वर्ष अगाडी सम्पन्न भैसकेको थियो। यद्यपि, निर्माण सम्पन्न भै संचालनमा आएतापनि उक्त विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण भने लामो समयसम्म हुन सकेको थिएन।








