बूढानिलकंठ(काठमांडू): चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जुन ६, आजदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा प्रारम्भ भएको छ। झाँकी प्रदर्शन, विशेष सांस्कृतिक प्रस्तुतिसहित महोत्सव प्रारम्भ भएको हो। महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा रानाले गरिन्। आदिवासी जनजाति चलचित्र महासङ्घद्वारा आयोजित सो चलचित्र महोत्सव जुन ६, ७ र ८ तीन दिन सञ्चालन हुनेछ। महोत्सवमा विभिन्न आदिवासी जनजाति समुदायका चलचित्रकर्मीद्वारा निर्माण गरिएका चलचित्र प्रदर्शन गरिनेछ। महोत्सवको उद्घाटन गर्दै उपसभामुख रानाले आदिवासी जनजाति समुदायप्रतिको आमबुझाइमा सकारात्मक परिवर्तन ल्याउन चलचित्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
उनले भनिन , “अझै धेरै जनजाति समुदायका चलचित्रहरू बन्नुपर्छ। यी चलचित्रको माध्यमबाट हाम्रो जाति र सम्प्रदायको पहिचानलाई विश्व समाजमा चिनाउन र हामीप्रतिको मानसिकतामा परिवर्तन ल्याउनसक्नुपर्छ।” महासङ्घका अध्यक्ष पुर्खाजित राईले विभिन्न समुदायको संस्कार, संस्कृति, भाषा, रैथाने ज्ञानसीप, प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै र पहिचानलाई संरक्षण गर्न आदिवासी जनजाति चलचित्रकर्मीले मातृभाषामा चलचित्र निर्माण गरिरहेको बताइन।
उनले भनिन “ती चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउने यो महोत्सव महत्त्वपूर्ण हुने विश्वास छ। जसका निम्ति महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्र र चलचित्रकर्मीको विशेष उपस्थिति र विशेष प्रदर्शन हुनेमा विश्वस्त छु।” कलाकार दयाहाङ राईले आफ्नो समुदायको चलचित्रलाई विश्व समुदायसँग साक्षात्कार गराउन सबै चलचित्रकर्मीलाई आह्वान गर्नुभयो। “हामीभित्र धेरै कथा छ। हाम्रो मूल्य मान्यता र विश्वासमा चलचित्र बनेका छन्, अझ धेरै कुरा ल्याउन बाँकी छ। यस चलचित्र महोत्सवले विश्व समुदायमा हामी र हाम्रा चलचित्र देखाउनसक्नुपर्छ”, उनले भने।