जनताले राजु विष्टलाई मात्र जिताएको होइन तर गोर्खाहरूको समस्या समाधानको लागि जिताएको हो: बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे

IMG-20240606-WA0189.jpg

खरसाङ: यसपालीको लोकसभा चुनावमा दार्जीलिङ संसदीय सिटबाट भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टले दोस्रोपल्ट जीत हाँसिल गरेकोमा बौध्द धर्म गुरु एंव गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको सभापति पेम्बा रिम्पोर्छेले नव निर्वाचित सांसद राजु विष्टलाई बधाई दिएका छन्। उनले आज खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै यो जीत राजु विष्टको मात्र जीत नभएर सम्पूर्ण गोर्खाहरूको जीत हो भनी बताएका छन्। उनले यस जीतको श्रेय सम्पूर्ण जनता साथै गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष बिमल गुरुङलाई पनि दिएका छन्। उनले गोजमुमो भारतभरिको गोर्खाहरूको पार्टी रहेको र भारतभरि संगठन रहेको पार्टी गोजमुमोको समर्थन रहेकोले पनि राजु विष्टको जीत निश्चित भएको बताएका छन्। बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा दार्जिलिङ संसदीय सिटबाट भारतीय जनता पार्टीले रेकर्ड लगातार चौथोपल्ट रेकर्ड जीत हाँसिल गरेको र राजु विष्टले पनि दोस्रोपल्ट जीत हाँसिल गरेको बताउँदै जनताले राजु विष्टलाई मात्र जिताएको होइन तर भारतीय जनता पार्टीलाई गोर्खाहरूको समस्या समाधान गरिदियोस् भनी जिताएको हो भनी बताएका छन्। उनले जनताले भाजपालाई लगातार रूपमा जिताएको छ र भाजपाले गोर्खाहरूको स्थायी राजनैतिक समाधान गरिदिनुपर्छ नत्र फेरि राजनीतिमा अर्कै परिस्थिति आउन सक्ने सम्भावना देखिएको बताएका छन्। पेम्बा रिम्पोर्छेले पहिला कंग्रेसले बंगालको बाम फ्रन्ट सरकारसित मिलेर गोर्खाहरूको समस्या समाधानतर्फ ध्यान नदिन्दा हराएको हो र अब पनि गोर्खाहरूको लागि भाजपाले केही गरेन भने तेस्तै परिस्थिति आउन सक्ने चेतावनी समेत दिएका छन्।

About Author

Advertisement