सिक्किम क्रान्तिकारी मोर्चा पार्टीद्वारा पाँचौं जन उन्मुक्ति दिवस पालन

IMG-20220810-WA0203.jpg

जोरथाङ: आज पाँचौं जन उन्मुक्ति दिवस सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले जोरथाङ खेलमैदानमा हजारौंको संख्यामा पार्टी समर्थकहरूको उपस्थितिमा हर्षोल्लासको साथमा पालन गऱ्यो। मुख्यमन्त्री तथा एसकेएम अध्यक्ष प्रेमसिंह तामाङ १० अगस्त, २०१८ मा एक वर्ष जेलको सजाय काटेर फर्किआएका थिए। सोही दिनलाई एसकेएमले जनउन्मुक्ति दिवसको रूपमा मनाउॅंदै आइरहेको छ। कार्यक्रममा मुख्यमन्त्री एवं पार्टी अध्यक्ष तामाङ लगायत विधानसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्रीगण, विधायकगण, राज्यका छवटै जिल्लाबाट हजारौंको संख्यामा एसकेएम नेतृत्व, कार्यकर्ता, समर्थकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री एवं एसकेएम अध्यक्ष तामाङले सिक्किमेली जनसमुदायलाई आजको दिन समर्पित गरे। उनले २०१७-को आजकै दिन आफु सिक्किमेली गरीब जनसमुदायको निम्ति हाँसी हाँसी रोङ्गे कारावास गएको स्मरण गरे। कुनै पनि हिटलरी शासनले व्यक्तिको शरीरलाई मात्र थुन्न सक्ने, तर विचारलाई थुन्न नसक्ने कुरामाथि आफु ढुक्क भएको हुनाले सो दिन आफु नरोएको उनले प्रष्ट पारे। त्यसताकको सरकारले पीएस गोलेलाई शारीरिक रूपले थुने पनि आफ्नो विचारलाई थुन्न नसकेको उनले किटान गरे।

उनले आज पार्टीमा समावेश भएका पूर्व मन्त्रीगण साथै अन्य नेतृत्वहरूलाई स्वागत जनाए। एसकेएम परिवारमा वृद्धि भएकोमा उनले खुशी व्यक्त गरे। उनले पार्टीका खाँबोहरू बढ़ेको मन्तव्य व्यक्त गर्दै एसकेएम पार्टीले समावेशी राजनीतिमा विश्वास गर्ने प्रष्ट पारे। आज सामेल हुनेहरूबारे बोल्दै यी नेता, कार्यकर्ताहरूको कारणले गर्दा एसडीएफ पार्टीले २५ वर्ष शासन गर्न सक्षम बनेको हो भनी बताए। आज समावेश हुनेहरू २०२४-मा एसकेएमलाई ३२-मा ३२-वटै आसनमा जीत दिलाउन आएका हुन् भने। यो समावेशीले २०२४ -मात्र होइन २०२९-पनि पक्का पार हुने उनले ठोकुवा गरे। उनले अझै धेरैजना एसकेएममा समावेश हुन चाहेको अवगत गराए।
आफु भाषणमा होइन काममा विश्वास गर्ने व्यक्ति रहेको बताउॅंदै भने, तपाईहरूको मेहनत, विश्वासले गर्दा आज सिक्किमको मुख्यमन्त्रीको चौकीमा आसिन हुन सक्षम बनेको छु। यसको निम्ति सबैप्रति म नमन गर्दछु अनि धन्यवाद दिँदछु। स्वाधीनताको महत्वबारे बोल्दै मुख्यमन्त्री तामाङले स्वाधीनताको मूल्य देशविहीन हुनेहरूलाई थाहा हुने अनि आफ्नो राष्ट्र सम्प्रभुत्वको चरम संकटमा जुझिरहेका देशहरूलाई थाहा हुने उल्लेख गर्दै यूक्रेन देशको उदाहरण दिए। आजादीका अमृत महोत्सवअन्तर्गत हाल राज्यभरि हर घर तिरंगा कार्यक्रम शुरु भइसकेको कुरा साझा गर्दै हाल सिक्किमेली जनसमुदायले राष्ट्रिय उत्सवहरू हर्षोल्लासका साथमा पालन गर्ने गरेको बताए।

देशप्रति आफू सधैं समर्पित रहेको उदाहरण पेश गर्दै मुख्यमन्त्री तामाङले हर घर तिरंगाबारे एक कविता प्रस्तुत गरे। केन्द्र सरकारको सहयोगमा सिक्किम राज्य प्रगतिको पथमा अग्रसर बनिरहेको जानकारी गराउँदै मुख्यमन्त्री तामाङले यसको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीसँगै केन्द्र सरकारप्रति आभार प्रकट गरे। प्रत्येक भेटमा प्रधानमन्त्री नरेन्द्र मोदीले धाप मार्ने गरेको स्मरण गर्दै यो आफ्नो मात्र होइन सिक्किमेली जनसमुदायको निम्ति गर्वको कुरा रहेको विचार पोखे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *