गान्तोक: राज्यको विभिन्न स्थानमा विभिन्न संघ संस्थाहरूले विरूवा रोपेर विश्व पर्यावरण दिवस पालन गरेको छ। यसै क्रममा आज गान्तोक नगर निगम, शहरी विकास विभाग र जीएनएम विल्डर्स गान्तोकको संयुक्त पहलमा विश्व पर्यावरण दिवस पालन गरियो। यस अवसरमा गान्तोक नगर निगमका आयुक्त आरबी भण्डारी लगायत अन्य अधिकारीहरूले १०८ वटा विरूवा रोपेको जानकारी गराइएको छ। यस अवसरमा गान्तोक नगर निगमले स्थानीय मानिसहरूलाई फोहोर फाल्न अघि फोहोर छुट्टाएर आफ्नो जिम्मेवारी पनि पुरा गर्नुपर्ने अपील गरेको छ। फोहोर प्रबन्धनको निम्ति अहिले मैला नछुट्टाएकोले ठूलो चुनौती उत्पन्न भइरहेको र सबैले यसलाई सकारात्मकरूपमा लिएर पहल गरेको खण्डमा अवश्य पनि जिरो वेस्ट सिक्किम बनाउन सकिने जानकारी गराएको छ। यसै क्रममा क्योङसाको एआइएनएलएस र आरसी भानुशालिकमा विश्व पर्यावरण दिवस पालन गरियो। उक्त अवसरमा अधिकारीहरूले १०८ वटा विरूवा कार्यालय परिसरमा रोपेको बताइएको छ। गेजिङ जिल्लाका आरओले विभिन्न प्रजातिको सुन्दर विरूवा उपलब्ध गराएकोमा अधिकारीहरूले आभार प्रकट गरेका छन्। सोही प्रकारले हिमालय ग्रेस एकादमी चिसोपानीले पनि विश्व पर्यावरण दिवस आज अति हर्सोल्लाहसपूर्वक पालन गरेको जानकारी गराइएको छ। यस अवसरमा उक्त एकादमीका विद्यार्थी साथै शिक्षकवर्गले पनि सहभागिता जनाएका थिए भने कार्यक्रममा एकादमी परिसरमा विरूवा रोपन साथै सर सफाई पनि आयोजना गरियो। यस वर्षको विश्व वातावरण दिवस अभियान “हाम्रो भूमि” भन्ने नारा अन्तर्गत भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोधमा केन्द्रित हाम्रो भविष्यलाई विशेष महत्व दिँदै नाम्ची जिल्ला अन्तर्गत ९ बर्फुङका नवनिर्वाचित सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका विधायक रिक्सल दर्जी भोटियाले राबोङ्ग बजार नजिक रहेको छोजो पोखरीमा विरूवा गर्दै बर्फुङका विश्व पर्यावरण दिवसको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। यसरी नै सोरेङ जिल्ला अन्तर्गत दरामदिन स्थित निजि पाठशाला युनाइटेड एकाडमीले आज विश्व पर्यावरण दिवस पालन गरेको जानकारी गराइएको छ।यस अवसरमा स्कूलका विद्यार्थीहरुले पर्यावरण संरक्षणबारे लेखिएका स्लोगनका प्लेकार्डहरु बोकेर एउटा सचेतना ऱ्यासी स्कूल परिसरदेखि दरामदिन बजारसम्म आयोजना गरेका थिए। दरामदिन बजारमा पुगेर विद्यार्थीहरुले विभिन्न कार्यक्रमरु प्रस्तुत गरे, जसमा लघु नाटक प्रस्तुति, कविता वाचन, नृत्य प्रस्तुति साथै हाजिरी जवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो। पर्यावरण दिवसबारे विद्यार्थीहरुले अंग्रेजी अनि नेपाली भाषामा सम्भाषण पनि राखेका थिए। स्कूलका प्रधानाध्यापक दिवस राईले आफ्नो सम्बोधनमा पर्यावरण सचेतनाबारे विद्यार्थी साथै उपस्थित गाउँलेहरुलाई जागरुक रहन पर्ने र आफ्नो गाउँ घर अनि परिवेशलाई स्वच्छ राख्नु पर्ने सर-सल्लाह दिए। स्कूलको चारवटा हाउसहरुले आ-आफ्नोतर्फबाट दरामदिन बजारका विभिन्न ठाउँहरुमा कुढादान (डस्टबिन) राख्ने काम गरे साथै स्कूलका विद्यार्थी अनि शिक्षक-शिक्षिकाहरुले बिरुवा रोपनको कार्य गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। यसरी नै सोरेङ जिल्लाको रूरवन कम्पलेक्समा ग्रामीण प्रबन्धन विभागको पहलमा विश्व पर्यावरण दिवस पालन गरियो। यस अवसरमा अतिरिक्त जिल्लापाल,खण्ड विकास अधिकारी लगायत अन्य अधिकारीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा विश्व पर्यावरण दिवसको महत्वसाथै विभिन्न प्रजातिका विरूवाहरू पनि रोपिने कार्य सम्पन्न भयो। कार्यक्रममा अतिरिक्त जिल्लापालले माटो,पानी र हावा तीनवटा महत्वपूर्ण पर्यावरण सम्वन्धि विषयबारे अवगत गराए। उनले थप जानकारी गराए अनुसार हामीले केवल विरूवा रोपनमा मात्र ध्यान नदिएर माटो र पानीको संरक्षणबारे पनि ध्यान केन्द्रित गर्नुपर्ने जानकारी गराए।