गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चाले दोस्रो कार्यकालको निम्ति ११औं विधानसभा चुनाउमा ३२-मध्ये ३१ आसनमा जीत हासिल गरेपछि पुनः दोस्रोपटक पाल्जोर स्टेडियममा राज्यवासीलाई साक्षी राखेर मुख्यमन्त्री प्रेमसिंह तामाङले शपथ ग्रहण गर्ने भएका छन्। विश्व पर्यावरण दिवसको अवसरमा राजभवनमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा मुख्यमन्त्री तामाङले उक्त जानकारी गराएका हुन्। योसँगै सिक्किम राज्यको निम्ति एक मात्र सांसदले एनडीएलाई नै समर्थन जनाउने मुख्यमन्त्री तामाङले पत्रकारहरूलाई अवगत गराए।
उल्लेखनीय छ, वर्ष २०१९-मा पहिलोपल्ट १७ आसनमा जीत हासिल गर्दै बहुमत पाएपछि मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमको इतिहासमा पहिलोपल्ट २७ मईको दिन राजधानीस्थित पाल्जर स्टेडियममा सिक्किमेली जनसमुदायलाई साक्षी राख्दै मुख्यमन्त्रीको पद अनि गोपनीयताको शपथ ग्रहण गरेका थिए। यसपाली पुनः दोस्रोपटक पाल्जर स्टेडियमै उनले शपथ ग्रहण गर्ने पत्रकारहरूलाई जानकारी गराएका छन्। यस भव्य समारोहमा राज्यवासीसँगै अन्य राज्यबाट पनि वरिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहने थाह लागेको छ। यसबारेमा प्रशासनिक तौरसँगै सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले युद्धस्तरमा तयारी शुरु गरिसकेको छ।जानकारी गराइन्छ, २०१९-को तुलनामा यसपालीको चुनाउमा ११.३५ प्रतिशत अधिक मत हासिल गरेको छ। २०१९-को चुनाउमा एसकेएम पार्टीले मोठ ४७.०३ प्रतिशत मतको साथ १७ आसनमा जीत हासिल गरेर पहिलोपल्ट सरकार गठन गरेको थियो भने यसपालीको चुनाउमा ५८.३८ प्रतिशत मत पाएपछि थप १४ वटा आसनमा जीतसँगै मोठ ३१ वटा आसनमा जीत हासिल गरेको छ।