खरसाङ: तीनधारे क्षेत्रको विभिन्न विद्यालयहरूमा विश्व पर्यावरण दिवस पालन गरिएको छ। तीनधारे उच्चत्तर माध्यमिक विद्यालय र मिठाईडाँड़ा रेणुका कन्या उच्च माध्यमिक विद्यालयको विद्यार्थीहरूलाई लिएर पर्यावरण दिवसको अवसरमा बिरुवा रोपनको कार्य सम्पन्न गरिएको छ। यस अवसरमा दुवैवटा विद्यालयहरूमा ५०-५० वटा बिरुवाहरू रोप्ने कार्य सम्पन्न गरिएको छ। उक्त विश्व पर्यावरण दिवसमा प्रमुख अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित रहेका थिए। विद्यार्थीहरूलाई सम्बोधन गर्दै सभासद नवराज छेत्रीले बिरूवा रोपनको कार्य गरेर मात्र हुँदैन तर बिरुवाहरू सिहार सुसार गर्न पनि नितान्त आवश्यक रहेको बताउँदै अब रोपिएको बिरुवाहरू स्कूलको हाउस अनुसार सिहार सुसार गरिनु पर्ने बताएका छन्। उनले यसपाली रोपिएको बिरुवाहरू सिहार सुसार गरेपछि आगामी वर्ष बिरुवा चेरचाह गर्नेलाई पुरस्कार दिइने बताएका छन्। उनले पहिलो पुरस्कारको रूपमा पाँच हजार, दोस्रोलाई तीन हजार, तेस्रोलाई दुई हजार र चौथोलाई एक हजार गरेर दिने घोषणा पनि गरेका छन्। कार्यक्रममा श्रीगणेश सहकारी समितिको अध्यक्ष बिनयकुमार छेत्रीले पनि सम्बोधन गरेका थिए। उनले बताए अनुसार आजको विश्व पर्यावरण दिवस पालन गर्नलाई तीनधारे क्षेत्रका विद्यालयहरूलाई 50-50 वटा गरेर बिरुवाहरू वितरण गरिएको बताएका छन्। उनले भावी पिँढीलाई बचाउन साथै गर्मीबाट जोगिनलाई प्रचुर मात्रामा वृक्ष रोपणको कार्य सम्पन्न गरिनु पर्ने आवश्यकता रहेको बताएका छन्। यस कार्यमा तीनधारे उच्चत्तर माध्यमिक विद्यालय र रेणुका कन्या उच्च माध्यमिक विद्यालयको विद्यार्थीहरू साथै शिक्षक शिक्षिकाहरू लगायत अन्यहरू उपस्थित रहेका थिए।

त्यसरी नै खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको रंगटङ्ग फरेस्ट प्रोटेक्शन कमिटीको आयोजनामा विश्व पर्यावरण दिवस पालन गरिएको छ। यसको फरेष्ट विभाग र चुनभट्टीरो मेरीगोल्ड अंग्रेजी स्कूलका विद्यार्थीहरू र शिक्षक शिक्षिकाहरूले पर्यावरण दिवस कार्यक्रममा सहभागिता जनाएका थिए। यस अवसरमा रंगटङ्ग फरेष्ट प्रोटेक्शन कमिटीको सभापति प्रकाश सार्कीले विश्व पर्यावरण दिवस विषयमा वक्तव्य राखेका थिए। यस अवसरमा बिरुवा रोपनको कार्य पनि सम्पन्न गरिएको जानकारी शन्नि लामाले जानकारी गराएका छन्।

त्यस्तै प्रकारले विश्व पर्यावरण दिवस तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयद्वारा पालन गरिएको छ। यस वर्षको विश्व पर्यावरणको विषय हाम्रो जमीन संरक्षण, रिसाईकल र पुन: प्रयोग माथि विद्यार्थीहरुले विभिन्न प्रकारका चार्ट पेपरमा नक्शाहरु बनाएर जनचेतनामूलक नाराहरू लेखेर तीनधारेमा सचेतनामूलक रैलीको आयोजना गरेका थिए। उक्त रैली तीनधारेको ब्लु डाईमण्ड स्कूलसम्म नारा लगाउँदै, तलतिर तीनधारेको रेलवे कारखाना गोलाईसम्म लगिएको थियो। रैलीपछि विद्यार्थीहरू विद्यालय फर्किएर आएपछि विद्यालय परिसरमा विभिन्न विरुवाहरुको बोट रोप्ने काम गरियो। त्यसपछि तीनधारे चियाबारीको भुले गाउँमा फलेको जैविक लिच्ची पनि प्रधान अध्यापिका रोजीरानी राई मुखियाले विद्यार्थीवर्गलाई वितरण गरिन्। उक्त लिच्ची पर्यावरण दिवसमा बाँड्ने परम्परा नै बसेको जानकारी प्रधान अध्यापिका रोजीरानी राई मुखियाले दिएकी छन्।