बूढानिलकंठ(काठमांडू): राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गरेर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपील गरेका छन्। विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्ररुपमा हिमशृंखला र हिमतालमा परिवर्तन आएको बताए। माथिल्लो क्षेत्रमा जलवायु परिवर्तनको असर देखिँदा तल्लो तटीय क्षेत्रमा बाढी पहिरो लगायतको प्रकोप पनि बढेको उनको भनाइ छ।
‘जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको ह्रास जस्ता अन्तरसम्बन्धित संकटहरूसँग नेपाललगायत सम्पूर्ण विश्व जुधिरहेको छ। एक्लो प्रयासले यी संकटहरू समाधान हुन सक्दैनन् भन्ने कुरामा हामी प्रष्ट छौं’, उनले भने। राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको मूल नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य : भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोध’ ले हाम्रा अगाडि रहेका साझा चुनौती र अवसरहरूलाईसमेत प्रष्ट पारेको उल्लेख गरे।
गत वर्ष संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालको भ्रमणका अवसरमा पनि नेपालका हिमालले भोग्नु परेको संकटका लागि विश्वसामु अझ जोडदार ढंगले प्रस्तुत गर्ने वाचा गरेको राष्ट्रपतिले सम्झिए।
‘उनकै शब्दमा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाललगायत अन्य पर्वतीय देशहरु एउटा विश्वव्यापी संकटको भूमरीमा फसेका छन् जस्को सृजनामा उनीहरुको आफ्नै योगदान नगन्य छ’, उनले थपे , ‘यस गम्भीर मुद्दालाई सम्बोधन गर्न विश्व समुदाय एकत्रित भएर लागौँ। हामीलाई अझै ढिला गर्ने सुविधा छैन।’
उनले उच्च हिमशृङखला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकिकृत र सन्तुलित रुपमा सम्बोधन हुने बताए।