कोचबिहार: तृणमूल कांग्रेसका उम्मेद्वार जगदीश चन्द्र वर्मा बसुनियाले कोचबिहार लोकसभा क्षेत्रबाट भाजपा उम्मेदवार निशिथ प्रामानिकलाई लगभग ४० हजार मतले पराजित गर्दै विजयी भएका छन्। जितपछि उनी बुधबार बिहान कोचबिहारमा रहेको पारिवारिक कुलदेवता मदनमोहन देवको मन्दिरमा गएर पूजा गरे। कोचबिहार जिल्ला तृणमूल कांग्रेस अध्यक्ष अभिजित दे भौमिक, कोचबिहार नगरपालिका अध्यक्ष रवीन्द्रनाथ घोष र अन्य नेताहरू उपस्थित थिए।

पूजापछि पत्रकारहरुलाई सम्बोधन गर्दै उनले मदनमोहन देव कोचबिहारका आदर्श भएको बताए। ‘उम्मेदवारी दिएकै दिन मदनमोहन देवको आशीर्वाद लिएर उम्मेदवारी पेश गरेँ, र उहाँकै आशीर्वादले जितेको हो। त्यसैले आज बिहान सबैभन्दा पहिले मदनमोहन देवको पूजा गरेँ र त्यसपछि दिनभर अन्य काम गर्नेछु’, उनले भने।