बुढ़ानिलकंठ (काठमांडू): अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१औं संस्करणमा ‘रिओ रोजो’ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर डकुमेन्ट्रीको अवार्ड जितेको छ।
यही विधामा ‘इन टु द हार्ट अफ माउन्टेन’ र ‘यम्नुस्काः द र्याग्ड एज’, क्विनडम र अगेन्स्ट द टाइड’ले स्पेसल मेन्सन पाएको छ। त्यस्तै, अन्तर्राष्ट्रिय सर्ट डकुमेन्ट्रीतर्फ ‘क्लाइबिङ फोर गोल्ड’ले अवार्ड जित्दा ‘इटर्नल फ्लेम र फर्वाड’ले स्पेसल मेन्सन प्राप्त गर्यो।
अन्तर्राष्ट्रिय फिचर फिक्सनतर्फ इरानी फिल्म ‘अ चाइल्डलेस भिलेज’ले अवार्ड जितेको छ। अन्तर्राष्ट्रिय सर्ट फिचर फिक्सनतर्फ भने ‘एड्जस्टमेन्ट’ले अवार्ड उचाल्यो। यही विधामा ‘नथिङ ग्रोज अन्डर द पाइन ट्री र स्प्लिट इन्ड्स’ले स्पेसल मेन्सन पायो।
‘नेपाल पानारोमा’तर्फ ‘द मोंक एन्ड द रेबेल’ र ‘हावाम्यान’ले स्पेसल मेन्सन जित्दा ‘दुविधा’ र ‘नेपाली फिक्सन’ विजेता घोषणा भए। ‘नेपाल पानारोमा बेस्ट डकुमेन्ट्री’मा ‘रोङफामु’ र ‘वाग्गिङ टेल’ले स्पेसल मेन्सन पाउँदा शान्ता नेपाली निर्देशित ‘धे ड्रिम्स’ले अवार्ड उचाल्यो।
दर्शकको अत्यधिक भोट पाएको ‘म अलप हुन चाहन्छु’ले भने पिपल्स च्वाइस अवार्ड जित्यो। इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को प्रदर्शनबाट सुरु भएको किम्फ टासी ल्हाम्जोमको ‘नो मोनास्ट्री नो भिलेज’ देखाउँदै समापन भएको छ। मई २९ देखि सुरु भएको किम्फमा २२ देशका ६० भन्दा बढी फिल्म तथा वृत्तचित्र प्रदर्शन भए।
‘इकोज अफ चेन्ज’ अर्थात् ‘परिवर्तनको प्रतिध्वनि’ नारा बोकेको किम्फमा स्टोरीटेलर्ससँगको सहकार्यमा ‘माउन्टेन्स म्याटर– अ कल फ्रम द हिमालयज’ शीर्षकको प्रस्तुति, अमेरिकी दूतावास काठमांडूको सार्वजनिक मामिला विभागसँगको सहकार्यमा ‘वुमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकको प्यानल छलफल भयो।