न्यूयोर्क: आईसीसी टी२० वर्ल्ड कप भारतीय टीमको मुख्य प्रशिक्षकको रूपमा उनको अन्तिम टुर्नामेण्ट हुने राहुल द्रविड़ले सोमवार आधिकारिक रूपमा घोषणा गरे। द्रविड़को यस निर्णयबारे पहिलादेखि नै चर्चा चलिरहेको थियो। उनले यस पदको निम्ति पुनः आवेदन गरेका थिएनन्। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले गत महिना यस पदको निम्ति आवेदन आमन्त्रित गरेको थियो। आयरल्याण्ड विरुद्ध बुधवार खेलिने ग्रुप ए-मा भारतको पहिलो म्याच अघि पत्रकार सम्मेलनमा द्रविड़ले मुख्य प्रशिक्षकको कार्यकालमा हरेक क्षणको आनन्द लिएको बताए। उनले भने, हरेक टुर्नामेण्ट महत्त्वपूर्ण हुन्छ। प्रशिक्षकको रूपमा मेरो निम्ति भारतको हरेक म्याच महत्त्वपूर्ण रह्यो। टी२० वर्ल्ड कप पनि अलग होइन। यो मुख्य प्रशिक्षकको रूपमा मेरो अन्तिम टुर्नामेण्ट हाे। द्रविड़लाई नोभेम्बर २०२१-मा भारतीय टीमको मुख्य प्रशिक्षक नियुक्त गरिएको थिए। उनको कार्यकाल गत वर्ष आईसीसी वनडे वर्ल्ड कपको साथ समाप्त भएको थियो। त्यसपछि बोर्डले द्रविड़सहित सम्पूर्ण कोचिंग टीमको कार्यकाल टी२० वर्ल्ड कपसम्म विस्तार गरेको थियो। द्रविड़ले भने, मलाई मेरो कामसँग प्रेम छ। यो विशेष जिम्मेवारी हो। मैले यस टीमसँग काम गर्नुको मजा लिए तर अहिले चरम व्यस्तता र जीवनको यस मोड़मा मलाई फेरि आवेदन गर्नु उचित लागेन। अहिले मेरो पूरा ध्यान टी२० वर्ल्ड कपमा रहेको छ। भारत र आयरल्याण्डबीच म्याच बुधवार राति भारतीय समयानुसार ०८:३० बजीदेखि शुरु हुनेछ।