गान्तोक: ११औं विधानसभा चुनाउ र १८औं लोकसभा चुनाउमा भारीमतले विजय हासिल गरी नयाँ कीर्तिमान रच्न सफल भएकोमा हर्ष प्रकट गर्दै नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले मुख्यमन्त्री प्रेमसिंह तामाङ एवम् सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई बधाई चढाएको छ।
मंगलवार ४ फरवरीको दिन गान्तोकको जीवन थिङ मार्गस्थित नेपाली साहित्य परिषद् भवनमा अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न परिषद्को कार्यकारी समितिको बैठकले बधाई प्रस्ताव पारित गरेको छ। परिषद्का महासचिव निलम न्यौपानेले आज एउटा प्रेस विज्ञप्ति जारी गर्दै एसकेएम सरकारले पाँच वर्षको कार्यकालमा जनताबाट प्राप्त गरेको लोकप्रियताको परिणामस्वरुप ऐतिहासिक विजय भएको उल्लेख गरेका छन्।
पाँच वर्षको प्रथम कार्यकालमा विभिन्न चुनौतिका पहाडहरूसित जुझ्दै मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्त्वावधीन सरकारले सिक्किम राज्यमा जनकल्याणकारी योजनाहरूको विस्तारसँगै राज्यको सर्वाङ्गीन विकासमा कुनै कसर नछाडेकाले नै आज लोकसभा र विधानसभा दुवै चुनाउमा विपुल मत हासिल गरेको परिषद्ले जनाएको छ। यस सुखद् क्षणमा नेपाली साहित्य परिषद्ले मुख्यमन्त्री तथा एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङ र सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई बधाईसँगै सुखद् कार्यकालको निम्ति शुभकामना व्यक्त गरेको छ।









