गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले ११औं विधानसभामा ३२ मध्ये ३१ आसनमा जीत हासिल गरेपछि राज्यका पूर्व मुख्यमन्त्री एवं एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि एसकेएम पार्टीलाई बधाई दिएका छन्। पूर्व मुख्यमन्त्री चामलिङले एक प्रेस विज्ञप्ति जारी गर्दै एसडीएफ पार्टीको पक्षबाट पीएस गोलेको नेतृत्वमा रहने एसकेएम सरकारको दोस्रो कार्यकाल सिक्किम अनि सिक्किमेली जनसमुदायको हितमा रहोस् भन्ने कामना गरेका छन्। योसँगै उनले गणतन्त्रको महापर्वमा हर्षोल्लासको साथ सहभागिता जनाएकोमा सम्पूर्ण सिक्किमेली जनतालाई धन्यवाद दिएका छन्। पूर्व मुख्यमन्त्रीले चुनाउ प्रक्रियालाई शान्तिपूर्वक सम्पन्न गराएकोमा चुनाउ आयोग साथै सम्बन्धित निकायलाई धन्यवाद दिएका छन्।