नयाँ दिल्ली: लोकसभा चुनावमा लगातार तेस्रो पटक एनडीएको जितपछि प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार राति पार्टी मुख्यालय पुगेका छन्। सो क्रममा प्रधानमन्त्रीलाई भव्य स्वागत गरियो। यसै क्रममा प्रधानमन्त्री मोदीले लगातार तेस्रो पटक आफ्नो सरकार बन्ने पक्का भएको बताए। प्रधानमन्त्रीले भाजपा र एनडीएलाई भोट दिएकोमा जनतालाई धन्यवाद दिए। प्रधानमन्त्रीको सम्बोधनका क्रममा भाजपाका समर्थकहरूले ‘मोदी…मोदी’को नारा पनि लगाएका थिए। प्रधानमन्त्री मोदीले आफ्नो भाषणको शुरुवात जय जगन्नाथबाट गरे। उनले भने, ‘हजुरहरुको माया र आशिर्वादका लागि म सबै देशवासीप्रति ऋणी छु। आज धेरै शुभ दिन हो। यस शुभ दिनमा एनडीएले लगातार तेस्रो पटक सरकार बनाउने पक्का छ। जनताप्रति हामी सबै धेरै आभारी छौं।‘ प्रधानमन्त्री नरेन्द्र मोदी ६० वर्षपछि तेस्रो पटक लोकसभा चुनाव जित्ने पहिलो प्रधानमन्त्री बन्न लागेका छन्। यसअघि पण्डित जवाहरलाल नेहरू लगातार तीन पटक लोकसभा चुनाव जितेर देशको प्रधानमन्त्री बनेका थिए। तर यसपाली चुनाव परिणामले भाजपाको गरेको प्रतिवद्धता ४०० को लक्ष्य पुरा हुनसकेन। उत्तर प्रदेशमा समाजवादी पार्टीको प्रदर्शनले भाजपालाई झट्का लागेको छl अहिलेसम्मको परिणामअनुसार भाजपाले आफ्नो बलबुत्तामा २७२ को संख्या छुन सकेको छैन।










