झापा: दक्षिणी झापाको कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित आठ जना पक्राउ परेका छन्। सामुदायिक वनबाट काठ चोरी गरी बिक्री गरेको आरोपमा अध्यक्षसहित आठ जना पक्राउ परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ। डिभिजनले भने पक्राउ परेका व्यक्तिहरूको नाम गोप्य राखेर अनुसन्धान गरिरहेको छ। वनमा केही रुख काटिएका ठुटाहरूको आधारमा र सामुदायिक वनका काठ पनि हराएकोले आरोपीहरू माथि २०२३ अप्रिल १८मा वन पैदावार काटी हानी नोक्सानी गरेको तथा कोष हिनामिना गरेको आरोपमा मुद्दा दर्ता भएको वनका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन्। मुद्दा दर्तापछि २०२४ मई २६का दिन सात जना र मई ३१ का दिन एक जनालाई पक्राउ गरिएको थियो। उनीहरू सबैलाई घरबाट पक्राउ गरी डिभिजन वनमा ल्याएको सूचना अधिकारी पुरीले बताए। उनीहरूमाथि अनुसन्धान सुरु भइसकेको छ। अहिले तीन वटा मात्र ठुटा भेटिएको र हिसाबमा पनि फरक देखिएपछि कति परिमाणको काठ बिक्री गरेको बारेमा अनुसन्धान प्रक्रियामै रहेको उनले बताइन्। यता डिभिजन वन प्रमुख मेघराज राईले मुद्दा दर्ता गराई अदालतमा म्याद थप भइसकेको र अनुसन्धानको प्रक्रियामा रहेकोले उनीहरूको नाम सार्वजनिक गर्न नमिल्ने बताए। अदालतबाट फैसला भएर आएपछि मात्र नाम सार्वजनिक गर्न मिल्ने कानुनी प्रावधान रहेको उनको दाबी छ।