बिराटनगर: हिजो जुन ३ अन्नपूर्ण हिमालमा पहिलो मानव पाइला टेकेको दिन। अन्नपूर्णको सफल आरोहणसँगै यसको संसारभर चर्चा भएको थियो। म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ वर्ष पुरा भएको छ। मानव पाइला परेको जेठो हिमाल र पदमार्गमा हिजो औपचारिक कार्यक्रमहरुको आयोजना गरिएको देखिदैन।
हिजोकै दिन फ्रान्सका नागरिक मौरिस हेर्जोगले म्याग्दीस्थित अन्नपूर्णको उत्तरी आधार शिविरबाट अन्नपूर्णको सफल आरोहण गरेका थिए। आठ हजार माथिका हिमालको पहिलो सफल आरोहणको कीर्तिमान राखेकोले अन्नपूर्ण प्रथमलाई ‘जेठो हिमाल’ पनि भनिन्छ। तर हिमाल आरोहणको ७४ वर्ष पुरा हुँदा पनि मौरिस हर्जोगले हिमाल आरोहणका लागि प्रयोग गरेको पदमार्ग र आधार शिविर भने ओझेलमा परेको छ। हिजोकै दिन पोखरामा विभिन्न कार्यक्रमहरु भइरहँदा मौरिस हर्जोगले आरोहण गरेको पदमार्ग र आधारशिविर भने सुनसान छ।
हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि २९ मई १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए। आरोहणको ७४ वर्ष इतिहास भएको अन्नपूर्ण ओझेलमा छ। पर्वतारोहणका क्षेत्रमा राम्रो सम्भावना भएर पनि ओझेलमा परेको मौरिस हर्जोग ट्रेक व्यवस्थापन समितिका अध्यक्ष तथा नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले बताउछन।
अन्नपूर्ण दिवसका अवसरमा मौरिस हर्जोगको शालिक आधारशिविरमा राख्ने योजना बनाए पनि सफल हुन नसकेको उनको भनाई छ। पर्यटन बोर्डले पर्यटन दिवस मनाउन ८० लाख रुपियाँ विनियोजन गरेपनि अन्नपूर्ण आरोहण क्षेत्रमा कुनै पनि कार्यक्रम नगरेर पोखरामा गर्नुले सकारात्मक सन्देश प्रवाह नगरेको उनको भनाई छ।
अन्नपूर्ण हिमालको उत्तरी आधारशिविर हुँदै हिमाल आरोहण भएकाले यसै क्षेत्रमा अन्नपूर्ण दिवसका कार्यक्रमहरु आयोजना हुनुपर्ने उनको भनाई छ। उत्तरी आधारशिविरबाट मात्र अन्नपूर्णको हिमाल आरोहण भएकाले यस क्षेत्र नै अन्नपूर्णको वास्तविक आधारशिविर भएको उनले दावी गरे।
स्थानीय सरकार र समुदायस्तरबाट अन्नपूर्ण क्षेत्रको पर्यटन विकासका लागि पछिल्ला एकदशक यता पदमार्ग निर्माण, प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमुलक कार्यहरु गर्दै आएको गुरुङले बताए। मौरीस हर्जोगकै नामबाट पदमार्गको नामाकरण गरेर विश्वभर थप प्रचारप्रसारमा जुटेको उनले बताउछन।
हर्गोजले इतिहास रचेको अन्नपूर्ण आधार शिविर र उहाँले प्रयोग गरेको पदमार्गलाई व्यवस्थित बनाउने र प्रचारप्रसार गर्ने काम गाउँपालिकाले गरेको छ, गाउँपालिका अध्यक्ष भरतकुमार पुनले भने “प्रकृतिको वरदान मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरलाई व्यवस्थित गरेर पर्यटक भित्र्याउन पहल थालेका छौँ।” नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ। दुई दिनको पैदल यात्रामा पुगिने अन्नपूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’गन्तव्य भएको अध्यक्ष पुनले बताए।

विश्वभर चिनाएको अन्नपूर्ण प्रथम हिमालको पर्यटकीय सम्भावना भएर पनि सरकारी निकायले चासो नदेखाएको नारच्याङका वडा अध्यक्ष लोकबहादुर फगामीले गुनासो व्यक्त गर्दछन। अन्नपूर्णको विकास र प्रवद्र्धनका लागि प्रदेश र संघीय सरकारबाट नै ठोस कार्यक्रमहरु आउनुपर्ने उनको भनाई छ।
ओझेलमा परेको अन्नपूर्णको पर्यटन सम्भावनाका बारेमा पछिल्लो समय गाउँपालिकाले चासो दिएको र प्रवद्र्धनमुलक कार्यक्रमहरु संचालन गरिरहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पुनले बताए। मौरिस हर्जोग पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत सुविधा र सुरक्षाको व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयार पार्न अध्ययनको काम अन्तिम चरणमा पुगेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिएका छन्।