गान्तोक: सिक्किम विधानसभा चुनाउको परिणामपछि आज मुख्यमन्त्री प्रेमसिंह तामाङको अगुवाईमा सबै विधायकहरूले राजभवनमा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग शिष्टाचार भेट गरे।
यस भेट अवधि नवनिर्वाचित विधायकहरूद्वारा हस्ताक्षरित प्रस्ताव मुख्यमन्त्रीको बाहुलीद्वारा राज्यपाललाई सुम्पियो, जसमा ११औं राज्य विधानसभाको निम्ति विधायक दलको नेता एवं मुख्यमन्त्री पदको उम्मेदवारको रूपमा प्रेमसिंह तामाङलाई नामित गरिएको छ। उक्त जानकारी राजभवनले आज जारी गरेको प्रेस विज्ञप्तिमा दिएको छ। राज्यपालले सबै निर्वाचित विधायकहरूलाई बधाई दिए।
राज्यपालले भने, ‘मलाई पूर्ण विश्वास छ कि नयॉं सरकारले प्रदेशमा विकास र जनताको भलाईको निम्ति पूर्ण निष्ठाले काम गर्नेछ।’ उनले भारतको चुनाउ आयोगको दिशानिर्देश अनुसार सिक्किममा शान्तिपूर्वक चुनाउ प्रक्रिया सम्पन्न भएकोमा खुशी व्यक्त गरे। यसैगरी, उनले सिक्किम राज्यलाई देशमा सर्वाधिक मतदान भएको राज्यको श्रेय प्राप्त भएकोमा पनि खुशी व्यक्त गरे।
मुख्यमन्त्रीले राज्यपालको मार्गदर्शनमा शान्तिपूर्वक चुनाउ सम्पन्न भएकोमा आभार प्रकट गरे। उनले आगामी वर्ष २०२५ मा सिक्किमले आफ्नो गौरवपूर्ण ५० वर्ष पूरा गर्नेछ भन्दै यस अवसरमा सालभरि विभिन्न कार्यक्रमहरूको आयोजना गरिने छ भने। उनले भने, केही वर्षयता सिक्किम र पूर्वोत्तर राज्यहरूमा अभूतपूर्व विकास भएको छ।
मुख्यमन्त्रीले भने, यो जनादेश सरकारको निम्ति ठूलो जिम्मेवारी हो र हाम्रो सरकारले प्रदेशका हरेक नागरिकको भलाईको निम्ति कार्य गर्नेछ र राष्ट्र निर्माणमा धेरैभन्दा धेरै आफ्नो योगदान दिनेछ।