एसकेएमको ऐतिहासिक जित नकारात्मक राजनीति विरुद्ध सकारात्मक राजनीतिको जित: एसकेएम

IMG-20240604-WA0003.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले विधानसभा चुनाउमा पार्टीको जितलाई व्यक्तिवादी सोच विरुद्ध समावेशी सोचको जित र नकारात्मक राजनीति विरुद्ध सकारात्मक राजनीतिको जित बताएको छ। एसकेएमले चुनाउमा पार्टीलाई ऐतिहासिक जित दिलाउन योगदान दिने सबैप्रति कृतज्ञता पनि व्यक्त गरेको छ।

एसकेएम प्रवक्ता जेकब खालिङले आज राजधानीस्थित पार्टी मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा एसकेएम सरकारले विगत पॉंच वर्षमा गरेका कार्यहरूलाई हेरेर जनताले एसकेएमलाई जित स्वरूप पुरस्कार दिएको बताए। उनले एसकेएमको जित पार्टी अध्यक्ष प्रेमसिंह तामाङको विनम्रता, समावेशी सोच र परिश्रमको एकमुष्ठ परिणाम रहेको ठहर गरे।

उनले एसकेएम सरकारको प्रथम कार्यकालमा पूर्व मुख्यमन्त्री पवन चामलिङले पीएस तामाङ मुख्यमन्त्री रहुन्जेलसम्म विधानसभामा प्रवेश गर्ने छुइन भनेर दिएको बयान स्मरण गराउॅंदै यो जित व्यक्तिवादी सोच विरुद्ध समावेशी सोच र नकारात्मक राजनीति विरुद्ध सकारात्मक राजनीतिको जित हो भनी बताए। उनले जितको श्रेय पार्टी अध्यक्ष र सम्पूर्ण पार्टी कार्यकर्ताहरूलाई दिए।

प्रवक्ता खालिङले एसकेएमको दोस्रो कार्यकालमा प्रशासनिक सुधारको कामलाई उच्च प्राथमिकता दिइने जानकारी गराए। पार्टीले अब राज्यको हितमा कठोर निर्णय लिनेछ भन्दै उनले पार्टी कार्यकर्ताहरूको समेत ध्यान आकर्षित गराए।

यसैगरी, पार्टी प्रवक्ता सीपी शर्माले २०१९ मा जनताले एसकेएममाथि विश्वास गरेर सत्तामा पुऱ्याएको र विश्वासको सरकार गठन गरेको थियो भने। यसपाली जनताले विकासको निम्ति एसकेएमलाई सत्तामा पुऱ्याएको उनले बताए। पार्टी अध्यक्ष प्रेमसिंह तामाङले जितको श्रेय विशेषरूपमा आमा चेलीहरूप्रति समर्पित गरेको पनि उनले जानकारी गराए।

उनले भने, यस जितलाई एसकेएम सरकारले गरेका कामहरूको मुल्याङ्कन भएको अनुभूति गरेका छौ। अब एसकेएम सरकारले स्वास्थ्य, शिक्षा र पर्यटनका साथै बिजुली, पानी र सड़कलाई पूर्ण प्राथमिकता दिएर काम गर्ने उनले अवगत गराए।

यसरी नै प्रवक्ताद्वय बिकास बस्नेत र योगेन तामाङ अनि प्रचार प्रसार महासचिव कृष्ण लेप्चाले एसकेएमलाई ऐतिहासिक जित दिलाउन योगदान दिने सबैप्रति कृतज्ञता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement