गान्तोक: हिजो बेलुकी नव निर्वाचित सिक्किम क्रान्तिकारी मार्चा पार्टीको पहिलो बैठकमा सर्वसम्मतिले पार्टी अध्यक्ष प्रेमसिंह तामाङलाई पार्टीको संसदीय दलको नेताको रूपमा चयन गरे पछि आज सबै विधायक दलको टोली सहित पार्टी आध्य़क्ष तामाङले सरकार गठन गर्ने आधिकारिक प्रस्ताव राज्यपाल समक्ष पेश गरे।
नवनिर्वाचित विधायकहरूले हस्ताक्षर गरेर तामाङलाई पार्टीको संसदीय दलको नेताको रूपमा हिजै चयन गरिएको थियो। पूर्व विधानसभा अध्यक्ष तथा पार्टीका महामन्त्री अरूण उप्रेती र पूर्व मन्त्री सोनाम लामाले प्रस्ताव अघि पेश गरेका थिए भने नवनिर्वाचित विधायकहरूले समर्थन जनाएका थिए। बैठकले ग्रहण गरिएको प्रस्ताव सहित राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई प्रस्ताव पेश गरिएको संसदीय दलका नेता तथा पार्टी अध्यक्ष प्रेमसिंह तामाङले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक अनि एक्स मार्फत जानकारी दिएका छन्।
अध्यक्ष तामाङले पार्टीका सबै नवनिर्वाचित विधायकहरूले जनाएको विश्वासका लागि, सिक्किमका जनतालाई राज्य र यसका नागरिकहरूको सेवा गर्ने जिम्मेवारी सुम्पिएकोमा कृतज्ञता व्यक्त गरेका छन्।